देश निर्माणको योजनासहित घर फर्किंदैछु : दुर्गा प्रसाईँ

काठमाडौं । अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
उनले उच्च अदालत पाटनको आदेशपछि कारागारमुक्त भएको जनाउँदै साथ र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
सोमबार साँझ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु ।’
प्रसाईंले जिल्ला अदालतको आदेशमा खुशी साथ कारागार गएकै बताउँदै, अहिले पनि उच्च अदालतको आदेशअनुसार देश निर्माणको भावी योजनासहित घर फर्किरहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘न्याय मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमान सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन ।’
प्रसाईंले आफू व्यक्तिगत हैन राष्ट्रकै लागि लागिपरेको दाबी गरेका छन् । ‘म मेरो लागि हैन, देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन, वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन’ उनले भनेका छन् ।
कारागारमा रहँदा सहयोग गर्ने नेपाल प्रहरी, कारागार व्यवस्थापन परिवार, र कैदीबन्दीहरूलाई समेत उनले धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, ‘कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, र कारागारमा रहनुभएका सबै साथीहरूमा हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।’








