इजरायलद्वारा सिरियाली भूभागमा हमला

एजेन्सी । इजरायली सेनाले आइतबार सिरियाको दक्षिणी क्षेत्रमा स्थल (भूपरिचालित) हमला गर्दै हतियार बरामद गरेको र केही व्यक्तिहरूलाई सोधपुछ गरेको जनाएको छ ।
इजरायलको सेनाले दिएको जानकारी अनुसार, गोलान हाइट्स नजिकैको ‘हादेर’ भन्ने स्थानमा एकै समयमा चारवटा ठाउँमा कारबाही गरिएको हो ।
ती ठाउँहरूबाट धेरै हतियार बरामद भएका छन् भने हतियार तस्करीमा संलग्न भएको आशंकामा केहीलाई सोधपुछ गरिएको छ ।
सेनाले सार्वजनिक गरेको भिडियोमा इजरायली सैनिकहरू बख्तरबन्द गाडी र पैदल रातको समयमा सिरियामा कारबाही गरिरहेको देखिन्छ ।
सेनाका अनुसार, उनीहरू आतंककारी समूहहरूलाई सीमावर्ती क्षेत्रमा बस्न नदिने उद्देश्यले त्यहाँ तैनाथ छन्, ताकि गोलान हाइट्सका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस् ।
सिरियाका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०२४ को अन्त्यतिर समाप्त भएपछि इजरायलले बारम्बार सिरियामा आक्रमण गर्दै आएको छ ।
इजरायलले नयाँ सरकारलाई कट्टरपन्थी (जिहादी) समूह मान्दै उनीहरूलाई हतियार नपरोस् भन्ने हेतुले हमला गर्ने बताउँदै आएको छ ।








