लोकतन्त्र र संविधान नमान्नेहरुले नै संसद अवरुद्ध पारेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरूले संसद अवरुद्ध गरिरहेको आरोप लगाएका छन् ।

आइतबार बालुवाटारमा आयोजित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद अवरोध गर्नेहरू लोकतान्त्रिक प्रणालीलाई भत्काउने षड्यन्त्रमा लागेको बताए ।

उनले भने ‘जो मान्छे संविधान मान्दैन, प्रणाली मान्दैन, लोकतन्त्र मान्दैन, त्यस्ता मानिस संसदमा छन् र संसद अवरुद्ध गरिरहेका छन् । उनीहरूलाई संसद नै चाहिएको छैन । कसैलाई अराजकता चाहिएको छ, कसैलाई राजतन्त्र । त्यसैले उनीहरू संसद देख्न पनि चाहँदैनन्, सुन्न पनि चाहँदैनन् ।’

प्रधानमन्त्री ओलीले संसदभित्रै पसेर आगो बाल्ने र प्रणाली भत्काउने सोच राख्नेहरूका कारण व्यवस्थामै समस्या उत्पन्न भएको जिकिर गरे । उनले यस्ता प्रवृत्तिहरू पुराना पार्टीहरूमा पनि रहेको स्वीकार गर्दै सुधार आवश्यक रहेको धारणा राखे ।

नयाँ दलहरूले संविधान र कानुनी परिधिभित्र रहेर आफ्ना विचार राख्न पाउने स्वतन्त्रता रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने ‘राजनीति र राजनीतिक पार्टीले लोकतान्त्रिक प्रणालीका मूल आधारहरूलाई आत्मसात गर्नुपर्छ । यसको महत्वपूर्ण पक्ष निर्वाचन हो ।’

प्रधानमन्त्री ओलीले नेपाल अहिले श्रीलंका वा बंगलादेशजस्तो अवस्था नभएको उल्लेख गर्दै व्यवस्था र संविधानमाथि प्रहार गर्नेहरूविरुद्ध प्रतिकार गर्न सरकार तयार रहेको स्पष्ट गरे । उनले लोकतन्त्र जोगाउन कहिले काहीँ ‘टफ’ हुनुपर्ने आवश्यकता पनि औंल्याए ।

‘हामी नरममा अत्यन्त नरम छौँ, अब डेमोक्रेसीका लागि फेरि टफमा जानुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =