काठमाडौंको प्रणाली नै समस्याग्रस्त, अब निर्णायक कदम नचाले झन् बिग्रिन्छ : यातायात मन्त्री

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात प्रणाली पूर्ण रूपमा समस्याग्रस्त रहेको स्वीकार गरेका छन् । आइतबार ललितपुरमा आयोजित ‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री दाहाल उपत्यकाको निराशाजनक यातायात अवस्थाबारे बोलेका हुन् ।
उनले अब पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था झनै भयावह बन्ने चेतावनी दिए । उनले बढ्दो सवारीसाधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त बनेको र यसले आर्थिक उत्पादकत्वदेखि जनस्वास्थ्यसम्ममा गम्भीर असर पारेको बताए । ‘काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समेटिएको यो उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक केन्द्र हो, तर यहाँको यातायात प्रणाली निकै समस्याग्रस्त छ,’ मन्त्री दाहालले भने, ‘सन् २०१२ मा बनेको र २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लानयता यातायातको अवस्था झनै बिग्रिएको छ । यसले दैनिक यातायातलाई मात्र होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ ।’
उनले उपत्यकाको वर्तमान संकटलाई सम्बोधन गर्न र दिगो समाधान खोज्न ‘काठमाडौं उपत्यका शहरी यातायात प्रणाली मास्टरप्लान परियोजना’ को अवधारणा अघि सारिएको जानकारी दिए । यो परियोजनाले नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३ र १६औं आवधिक योजनाले परिकल्पना गरेजस्तै समृद्ध र स्वच्छ सहर निर्माणको लक्ष्य राखेको उनको भनाइ थियो ।
‘ट्राफिक जाम, वायु प्रदूषणजस्ता ज्वलन्त समस्याहरूलाई सम्बोधन गर्दै यो परियोजनाले दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको छ,’ उनले थपे, ‘यसले हाम्रा नागरिकको जीवनस्तरमा सुधार ल्याउनेछ ।’
मन्त्री दाहालले विद्यमान अवस्थाप्रति गम्भीर बन्दै अब पनि निर्णायक र एकीकृत प्रयास नगर्ने हो भने परिस्थिति नियन्त्रणबाहिर जान सक्ने संकेत गर्दै सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे ।








