नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल ७ हजार प्रतिशतले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात भइरहेका यी वस्तुको आयात र निर्यात गत आर्थिक वर्षमा अस्वभाविक रूपमा बढेको देखिएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा भटमास तेलको निर्यात ११ हजार सात सय ३२ प्रतिशतले बढेको छ । नेपालले गतवर्ष गरेको कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३८ दशमलव ५ प्रतिशत छ । कुल रू दुई खर्ब ७७ अर्बको निर्यात गर्दा भटमास तेलको हिस्सा मात्रै रू एक खर्ब छ अर्ब ७९ करोड बराबर छ ।
‘समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा ११ हजार ७३३ प्रतिशतले वृद्धि भई रू एक खर्ब छ अर्ब ७९ करोड पुगेको छ । फलाम तथा फलामजन्य उत्पादनको निर्यातमा छ दशमलव ०१ प्रतिशतले ह्रास आई रु १६ अर्ब ३६ करोडमा झरेको छ’, केन्द्रले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापार वस्तुस्थिति प्रतिवेदनमा भनिएको छ ।
यस्तै, सूर्यमुखी तेलको निर्यातमा सात हजार ४३६ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ३३ करोड पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । केन्द्रका अनुसार गत आवमा धागोको निर्यातमा १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ४० करोड पुगेको छ । ऊनी गलैँचाको निर्यातमा पनि एक दशमलव ९३ प्रतिशतले वृद्धि भई रु १० अर्ब ७८ करोड पुगेको छ । विदेशबाट कच्चा र अर्धप्रशोधित आयात गरेर सामान्य मूल्य अभिवृद्धिपछि निर्यात भइरहेका वस्तुको हिस्सा बढ्दै जाँदा नेपालका आफ्नै उत्पादनमा निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।
‘तयारी पोसाकको निर्यातमा दुई दशमलव ३९ प्रतिशतले ह्रास आई रु आठ अर्ब ७५ करोडमा सीमित भएको छ भने प्लाइउडको निर्यातमा चार दशमलव २६ प्रतिशतले ह्रास आई रु सात अर्ब ०९ करोड पुगेको छ’, केन्द्रको प्रतिवेदनमा भनिएको छ, ‘कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँचीको निर्यातमा तीन दशमलव २४ प्रतिशतले ह्रास आई रु सात अर्ब ६८ करोड पुगेको छ ।’ जुसको निकासीमा ११ दशमलव ४१ प्रतिशतले ह्रास आई रु सात अर्ब ७२ करोडमा झरेको छ भने अदुवाको निर्यातमा ५० दशमलव ३८ ले ह्रास आई रु ५८ करोडमा सीमित भएको छ ।
केन्द्रका अनुसार गत आर्थिक वर्षमा जुट तथा जुटका उत्पादनको निर्यातमा १६ दशमलव ८१ प्रतिशतले वृद्धि भई रु आठ अर्ब २३ करोड पुगेको भएको छ । यस्तै, ऊनी फेल्टको निकासीमा ७१६ प्रतिशतले बढेर रू पाँच अर्ब १४ करोड पुगेको छ । यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि २६ दशमलव ६४ प्रतिशतले वृद्धि भई रू चार अर्ब ५९ करोड पुगेको छ । पिना (आयल केक) को निर्यातमा २२ दशमलव ८० प्रतिशतले वृद्धि भई रू तीन अर्ब ६३ करोड पुगेको केन्द्रले जनाएको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा गत आर्थिक वर्षमा मात्रै ११७ दशमलव ८ प्रतिशतले वृद्धि भई रू दुई खर्ब २४ अर्ब ६८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७ दशमलव ७१ प्रतिशत रहेकामा गत आवमा सो हिस्सा ८१ दशमलव १० प्रतिशत पुगेको छ । नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण रहेका अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरलेण्ड्स र अफगानिस्तान प्रमुख रुपमा रहेका छन् ।
यसैगरी आयाततर्फ पनि सबैभन्दा बढी वृद्धि देखिएको वस्तुमा कच्चा भटमास तेल पहिलो स्थानमा छ । गत आवमा कच्चा भटमास तेलको आयातमा ७११ दशमलप ९६ प्रतिशतले वृद्धि भई रु एक खर्ब आठ अर्ब ९५ करोड पुगेको छ ।
गत आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातमा चार दशमलव २९ प्रतिशतले ह्रास आई रु दुई खर्ब ८७ अर्ब ६५ करोडमा झरेको छ । फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १० दशमलव १८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ६२ अर्ब ५० करोड पुगेको छ । मेसिनरी तथा पाटपुर्जाको आयातमा १२ दशमलव ९८ प्रतिशतले वृद्धि भई रु एक खर्ब २४ अर्ब १५ अर्ब पुगेको छ ।
यस्तै, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयातमा पाँच दशमलव ६८ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ८८ करोड, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा २७ दशमलव २६ प्रतिशतले वृद्धि भई रु एक खर्ब नौ अर्ब १२ करोड पुगेको छ । कच्चा पाम तेलको आयातमा भने ३५ दशमलव ६८ प्रतिशतले ह्रास आई रु छ अर्ब ८२ करोडमा सीमित भएको छ ।
यसैगरी, गत आर्थिक वर्षमा अन्नको आयातमा ३२ दशमलव ७२ प्रतिशतले वृद्धि भई रु ६० दशमलव ७८ अर्ब पुगेको छ भने तयारी पोसाकको आयातमा १६ दशमलव ७९ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब पुगेको छ । गत आवमा रू ४३ अर्ब ०८ करोड बराबरको दूरसञ्चारका सामग्री र रू १९ अर्ब ९५ करोड बराबरको सुन आयात भएको पनि केन्द्रले जनाएको छ । नेपालको पैठारी व्यापारमा प्रमुख स्थानमा रहेका मुलुकहरुमा भारत, चीन, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, युएई, युक्रेन, अष्ट्रेलिया, इण्डोनेसिया, थाइलेन्ड, मलेशिया, ब्राजिल, फ्रान्स, कतार र क्यानडा प्रमुख रुपमा रहेका छन् ।
केन्द्रको तथ्याङ्कअनुसार गत आवमा नेपालको कुल वैदेशिक व्यापार ९वस्तुतर्फ० अघिल्लो वर्ष २०८०र८१ को तुलनामा १९ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । कुल व्यापारमा निकासीको योगदान १३ दशमलव तीन प्रतिशत र पैठारीको योगदान ८६ दशमलव सात प्रतिशत रहेको छ । भटमास र सूर्यमुखी तेल निर्यात बढ्दा गत आवमा नेपालको कूल निकासी ८१ दशमलव ८ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७७ अर्ब तीन तीन करोड पुगेको छ । त्यस्तै, गत आवमा नेपालले कुल रू १८ खर्ब चार अर्ब १२ करोड बराबरको वस्तु आयात गरेको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा निकासी र पैठारी दुवैमा वृद्धि हुँदा व्यापारघाटामा छ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा रु १५ खर्ब २७ अर्ब नौ करोड पुगेको केन्द्रले जनाएको छ ।









This one example of business. It is not necessary that we produce goods, but it is good that we add value, generate domestic employment opportunity and re-export that gives us benefits/ the added value.