गुण्डागर्दीविरुद्ध काठमाडौंमा प्रहरीको ‘अपरेशन क्लिन’ तीव्र

काठमाडौं । राजधानीमा आपराधिक क्रियाकलापमाथि अङ्कुश लगाउन प्रहरीले विशेष अभियानलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी र अवाञ्छित गतिविधि निस्तेज पार्न ‘अपरेशन क्लिन’ जारी राख्दै आपराधिक समूहहरूलाई कडा चेतावनी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गुण्डाहरूलाई टाउको उठाउने कुनै पनि मौका नदिइने दृढता व्यक्त गरेका छन् । ‘हाम्रो अपरेशन निरन्तर जारी छ । काठमाडौंमा यस्ता अवाञ्छित गतिविधिमा संलग्नहरूको नामावली सङ्कलन गरी खोजीखोजी कारबाहीको दायरामा ल्याइँदैछ,’ एसएसपी अधिकारीले भने ।
यसै अभियानअन्तर्गत, प्रहरीले शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालामा छापा मारी ४७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा गरिएको उक्त कारबाहीमा पक्राउ परेकामध्ये ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङसहित १९ जनालाई सार्वजनिक हितविपरीतको कसुरमा मुद्दा दर्ता गरिएको छ । अदालतबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एसएसपी अधिकारीका अनुसार, पक्राउ परेका अन्य २८ जनालाई भने आवश्यक परेका बेला उपस्थित हुने शर्तमा छाडिएको छ, तर उनीहरूमाथिको अनुसन्धान भने जारी नै रहनेछ । ‘पक्राउ परेका १९ जनाविरुद्ध अन्य उजुरीहरू पनि आउन सक्ने सम्भावना छ । उनीहरूबाट पीडित जो कोहीले पनि निर्धक्क भएर उजुरी दिन सक्नुहुन्छ,’ उनले भने, ‘उनीहरू अन्य के-कस्ता अपराधमा संलग्न थिए भन्ने विषयमा पनि सुक्ष्म अनुसन्धान भइरहेको छ ।’
प्रहरीको यस कठोर कदमले राजधानीका आपराधिक समूहहरूमा खैलाबैला मच्चिएको छ भने आम नागरिकले शान्ति सुरक्षाको महसुस गर्न थालेका छन् । प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई थप सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।








