दिसामा पाइने कीटाणु भेटिएपछि तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

भक्तपुर । भक्तपुरको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरिएका उद्योग आजदेखि सञ्चालनमा आएका छन् ।

बजारमा बिक्री हुँदै आएको पानीमा दिसामा हुने कीटाणु कोलिफार्म भेटिएपछि चाँगुनारायण नगरपालिकाले बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै नगरपालिका–३ झौखेलमा सञ्चालित पाँच वटा पानी उद्योगमा तालाबन्दी गरेको थियो ।

नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले त्यस्ता उद्योगलाई बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै तालाबन्दी गरिएकामा सम्पूर्ण रूपमा शुद्धता सुनिश्चित गरिएपछि आजदेखि सञ्चालन गर्न दिइएको बताए ।

त्यहाँका उद्योगको पानी प्रदूषित रहेको गुनासो आएपछि यही साउन ९ र ११ गते उपप्रमुख बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, प्राविधिक, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको टोलीले उद्योगको अनुगमन गरी नमूना सङ्कलन गरेको थियो ।

नमूना परीक्षणपछि कोलिफार्म भेटिएको थियो । त्यस लगत्तै नगरपालिकाले ती उद्योगबाट पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

यस्ता उद्योगमा अक्वा कर्णाली खानेपानी, जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग, झौखेल खानेपानी उद्योग रहेका छन् ।

नगर उपप्रमुख बुढाथोकीले भने, ‘हामीले पानीको पुनः परीक्षण गर्यौँ, आज आएको रिपोर्टमा पानी शुद्धीकरण गरेको पाइयो, त्यसैले सञ्चालनका लागि अनुमति दिएका हौँ । फेरि यस्तो भेटिए कानुनअनुसार कारबाही गर्नेछौँ ।’

उनले सबै पानी उद्योगलाई नगरपालिकामा दर्ता एवं नवीकरण गर्न र शुद्धतामा ध्यान दिन आग्रह गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =