ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई ‘स्मार्ट स्ट्रिट लाइट’ मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ ।

‘उज्यालो महानगरपालिका’ योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडक खण्डमा आधुनिक सडक बत्ती जडान कार्य अगाडि बढाएको हो ।

महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार भित्री र बाहिरी सडकहरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ ।

दोस्रो चरणको यस आयोजना अन्तर्गत हाल चक्रपथको अन्धकार हटाउन नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम भइरहेको छ ।

यस आयोजनाको कुल लागत १३ करोड रुपैयाँ रहेको छ । जसमा ललितपुर महानगरपालिकाले १० करोड र नेपाल विद्युत् प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् ।

सडकमा बत्ती नहुँदा रात्रिकालीन समयमा हुने सवारी दुर्घटना र अवाञ्छित गतिविधिहरूलाई न्युनिकरण गर्ने उद्देश्यले यो आयोजना सञ्चालन गरिएको महानगरले जनाएको छ ।

आयोजना अन्तर्गत विभिन्न उचाईका ७ सय ९० वटा पोलहरू जडान गरिनेछन् । जसमा ११ मिटर उचाईका (डबल आर्म) ३ सय ७१ वटा पोल, ८ मिटर उचाईका १ सय ९५ वटा पोल, ७ मिटर उचाईका २ सय २४ वटा पोल, १२ मिटरका ६६ वटा मिनी मास्ट पोल रहनेछन् ।

बत्तीको सन्दर्भमा १ सय ५० वाटका १ हजार २ सय ५० थान, ९० वाटका ५ सय ५२ थान र २ सय वाटका १ सय ९८ थान फ्लड लाइटहरू प्रयोग गरिनेछ ।

हाल पहिलो खण्ड अन्तर्गत बालकुमारीदेखि सात दोबाटोसम्म बत्ती जडानको काम सम्पन्न भइसकेको र बाँकी खण्डमा काम भइरहेको छ ।

आगामी ३ महिनाभित्र सम्पूर्ण ७.९ किलोमिटर क्षेत्रमा बत्ती बाल्ने लक्ष्य राखिएको छ ।

यो आयोजनामा जडान गरिएका बत्ती र पोलहरूको मर्मत सम्भारका लागि महानगरले विशेष व्यवस्था गरेको छ ।

सम्झौताअनुसार आगामी ५ वर्षसम्म ती पूर्वाधारहरूको मर्मत र हेरचाहको जिम्मेवारी निर्माण व्यवसायीकै हुनेछ । यस अवधिमा कुनै प्राविधिक समस्या आएमा महानगरले थप खर्च व्यहोर्नु पर्नेछैन । ५ वर्षपछि मात्र यसको वित्तीय दायित्व महानगरमा हस्तान्तरण हुनेछ ।

ललितपुर महानगरपालिकाले निर्माण गरिरहेको अपाङ्गतामैत्री आकाशे पुलको काम पनि अन्तिम चरणमा पुगेको प्रमुख महर्जनले जानकारी दिए ।

पुलको सिभिल र स्ट्रक्चरल काम सम्पन्न भए पनि जडानका क्रममा केही प्राविधिक त्रुटी देखिएकाले पुनः सच्याइएको उनले बताए ।

अबको १५ दिनभित्र जडान कार्य शुरु हुने र आगामी ३ महिनाभित्र लिफ्टसहितको उक्त पुल उद्घाटन गर्ने महानगरको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =