‘बन्दैछ: मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल, माघसम्म सकिने’

काठमाडाैं । कुनै बेला मुग्लिङ-पोखरा सडक यात्रा अत्यन्त कष्ट्रकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ-पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् ।

मुग्लिङ-पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ-पोखरा सडक पूर्वीखण्डस्थित मादी नदी नेपालकै पहिलो पटक चार लेनको ठूलो पुल बनिरहेको बताउँछन् । उनकाअनुसार त्यो पुलको लम्बाई ३१८ मिटरको चार लेनको पुल बन्दैछ । भण्डारीले भने, ‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’

प्रमुख भण्डारीकाअनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलो पटक चार लेनको पुल बनाइरहेको छ । ७ सेक्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो । ६ सेक्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदैछ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको  र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताए । उनकाअनुसार मनसुन शुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ ।

खोलाको बहाव बढ्ने र ठेक्काहरु बगाउने भएकाले पुलको बीचको काम मनसुन सकिएपछि अब अघि बढ्नेछ । आगामी पुस-माघसम्ममा पूर्ण रुपमा पुल सम्पन्न हुने आशा छ । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ । डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामाग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माणव्यवसायी बताउँछन् । उनीहरुका अनुसार डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यत्ति नै घरहरुको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =