२२ करोड ठगी आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । सेयर बजारमा लामो समयदेखि क्रियाशील रहँदै आएका लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनलाई टोखाबाट पक्राउ गरेको हो ।
२२ करोड रुपैयाँ बराबरको ठगी गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए । उनका अनुसार अग्रवालविरुद्ध ठगी, विश्वासघात र वित्तीय अनियमितता सम्बन्धी उजुरी परेपछि अनुसन्धान थालिएको थियो ।
प्रहरीका अनुसार अग्रवालले सेयर बजारको कारोबारमार्फत धितोपत्र दलाल कम्पनी र सर्वसाधारण लगानीकर्तालाई ठगी गर्दै आएका थिए ।
नेपाल धितोपत्र बोर्डले समेत अग्रवालको गतिविधिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएपछि प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
अग्रवालले सस्तो मूल्यमा सेयर खरिद गरी सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई ‘सेयर मूल्य यति पुग्छ’ भन्दै झुठा आश्वासन दिने गरेको प्रहरीले जनाएको छ । लगानीकर्ताहरू उनले सुझाएको सेयर खरिद गर्न थालेपछि उनले आफ्नो सेयर महँगोमा बिक्री गर्थे ।
प्रहरी अनुसन्धानमा अग्रवालले कम्तीमा १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता सञ्चालन गर्दै आएको खुलेको छ ।
ती खाताहरू प्रयोग गरी उनले आफै सेयर खरिद–बिक्री गर्ने, मूल्य कृत्रिम रूपमा बढाउने, र नाफा भएपछि सेयर फाल्ने रणनीति अपनाउने गरेका थिए ।








