पार्टीको सदस्यता नवीकरण १५ प्रतिशतले वृद्धि : एमाले

काठमाडौँ । नेकपा एमालेको नवीकरण १५ प्रतिशतले वृद्धि भएको छ ।
शुक्रवारको पोलिटब्युरो बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले यसबारे बैठकलाई जानकारी गराएका हुन् ।
बैठकमा महासचिव पोखरेलले राखेका भनाइलाई उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठित सदस्यता नवीकरण १५ प्रतिशतले बढेको बताए । उनकाअनुसार बाँकी तथ्याङ्क आउने क्रम रहेको र पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो भएको बताए ।
उनले भने ‘नेकपा एमाले पोलिटब्युरोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरुवात गर्दै अहिलेको समसामयिक राजनीतिक परिस्थिति र मूलतः विधान अधिवेशनको तयारीका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धमा, विधानका विषयलाई लिएर निर्माण गर्न खोजेका गलत भाष्यहरूको सन्दर्भमा बैठकलाई विस्तारपूर्वक जानकारी गराउनु भयो । अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकारका बारेमा भनाइ राख्नुभयो । विधान अधिवेशनको काम र विधि निर्माण गर्ने काम भएकाले पार्टीका नेताहरूलाई रचनात्मक र सकारात्मक ढंगले लाग्न निर्देशन गर्नुभयो । विधान संशोधन सम्बन्धी प्रस्ताव पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा सचिवालयको बैठकले कतिपय विषयहरूलाई सचिवालयको प्रस्तावको रूपमा लिइएको छ ।
पार्टीमा तीन तहको लेयर बनाउने । केन्द्रीय सचिवालय र केन्द्रीय पदाधिकारीको लेयर हटाउने र १५ सदस्य पदाधिकारी, २५१ सदस्यीय केन्द्रीय कमिटी र त्यसको एक तिहाइको पोलिटब्युरो रहने गरी तीन तह निर्माण गर्ने प्रस्ताव गर्नुभयो । त्यस प्रस्ताव उपर स्थायी कमिटीका सदस्यहरूले आफ्नो राय प्रस्तुत गर्ने क्रम जारी छ । ८ जनाले राय राख्नुभएको छ । पार्टी सदस्यता सम्बन्धी, पार्टीको संगठित सदस्यता सम्बन्धी जुन व्यवस्था थियो, दुई खालका पार्टी सदस्यहरू प्रस्ताव गरिएको छ । एउटा पार्टीको संगठित सदस्यता, पार्टी सदस्यता रहेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण र उहाँले पार्टीमा सक्रिय हुने विषयले पनि प्रवेश पाएको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको छ । यसमा पार्टीले उचित समयमा निर्णय गर्छ भन्ने कमिटीलाई अध्यक्षले जानकारी गराउनुभएको छ । ७० वर्षे र दुई कार्यकालको अवस्थालाई हटाएर विधानको व्यवस्था प्रस्तुत गरिएको छ । पार्टीका महासचिव शंकर पोखरेलले अहिलेको मुलुकमा भएको पार्टीको संगठित सदस्यता नवीकरण हेर्दा १५ प्रतिशत नवीकरण बढेको छ । त्यो तथ्याङ्क आउने क्रम जारी छ । पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो भएको छ ।’
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, समसामयिक विषयहरूमा बैठकलाई जानकारी गराएका छन् ।








