साउन १ : ट्याम्पु स्टेरिङमा हरियो चुरा, मेहेन्दीको रौनक (भिडिओ)

काठमाडौँ । आज साउन १ गते । राजधानीका सडकहरूमा बिहान सबेरैदेखि ट्याम्पु चलाउँदै गरेका अनुहारहरू मध्ये आज केही महिला चालकहरू विशेष उत्साह र सजावटमा देखिन्थे । साउने सङ्क्रान्तिको अवसरमा उनीहरूले काम र चाडपर्वलाई सँगसँगै अँगाल्दै आफ्नो तरिकाले ‘साउन १’ मनाए ।

रामेछापकी मिना भुजेल त्यसमध्ये एक हुन् । मिना भुजेलले राति १२ बजेसम्म बसेर मेहेन्दी लगाइन् । बिहानको ४ बजे उठेर हिजो बेलुकी नै किनेर राखेको हरियो चुरा लगाइन् । त्यसपछि हरियो कुर्था लगाएर उनी ट्याम्पु चलाउन निस्किइन् ।

उनी विगत दुई वर्षदेखि काठमाडौँमा ट्याम्पु चलाउँदै आइरहेकी छन् । मिनाका श्रीमान् वैदेशिक रोजगारीमा छन् । उनी भन्छिन्, ‘उहाँको लामो आयुको कामना गर्दै चुरा र पोते लगाएकी हुँ ।’

उनले कामको व्यस्तताको कारणले अरू महिलाहरूले जसरी बर्त बसेर साउने सङ्क्रान्ति मनाउन नसकेको गुनासो गरिन् ।

उनले भनिन् ‘हिजो राति १२ बजेसम्म बसेर मेहेन्दी लगाए । चुरा हिजै किनेर लगेको थियो । बिहानै लगाएर हिँडे । काम गर्नुपर्छ बर्त बस्न सकिन्न । तर मेहेन्दी र चुरा लगाएर साउन १ गते मनाएको छु ।’

उनले बर्त बस्न नपाए पनि चुरा र मेहेन्दी लगाएर साउन मनाएको जिकिर गरिन् । एका बिहानै उठेर घर नजिकैको मन्दिरमा गएर भगवान्लाई ढोग गरेको पनि उनले जानकारी दिइन् ।

उनले सहरमा सबै दिदी बहिनीहरूले रमाइलो तरिकाले हरियो चुरा , पोते लगाउँदा आफू पनि त्यस्तै भएर हिँड्न मन लाग्ने सुनाइन् । उनले आफ्नो श्रीमान् विदेशमा रहेको बताउँदै श्रीमानको लामो आयुको लागि पनि हरियो चुरा, पोते र मेहेन्दी लगाएको बताइन् ।

उनले भनिन् ‘ श्रीमान् विदेशमा हुनुहुन्छ । उहाँको लामो आयुको लागि पनि हरियो चुरा र पोते लगाए । तर कसैलाई मन नपर्न सक्छ । आफ्नो इच्छा अनुसार लगाउने हो ।’ उनले कसैलाई चुरा, पोत लगाउन मन नभए आफ्नो इच्छा अनुसार गर्न सकिने जानकारी दिइन् ।


त्यस्तै नुवाकोटकी सर्मिला खड्का पनि सितापाइला, काठमाडौँ बसेर ट्याम्पु चलाउँदै आएकी छन् । उनले एका बिहानै काममा लाग्नु पर्दा साउनको रौनकले आफूलाई खास्सै नछोएको जानकारी दिइन् ।

उनले भनिन् ‘छैन के साउन हुनु । बिहानदेखि हिँडिन्छ । हरियो चुरा चैँ लगाइयो । मेहेन्दी पनि लगाए । छोरीले लगाइदिइन् । एकदमै खुसी लागि रहेको छ । वर्षमा एक पटक आउने चाडपर्व मन पर्छ ।’

उनले छोरीले गर्दा नै आफूले हरियो चुरा र मेहेन्दी लगाउन सकेको बताइन् । उनले काममा धेरै परिश्रम गर्नुपर्दा बर्त बस्न नसकेको पनि गुनासो गरिन् ।

भनिन् ‘एका बिहानै हिँड्नुपर्छ काम गरिन्छ । बर्त बसिन् । गाह्रै छ काम पनि । सोमबार चैँ म माछा मास चैँ खाँदिन् ।’

उनले पेसाको कारणले बर्त बस्न नसके पनि सोमबार माछा, मासु नखाने जानकारी दिइन् । उनले आज बिहानै नजिकैको महाकाल मन्दिरमा गएर दर्शन गरेको सुनाइन् । ‘साउन महिनामा हरियो चुरा र टिका लगायो भने भूतप्रेतले छुँदैन रे’ भनेर पहिले हजुरआमा बुबाहरूबाट आफूले सुन्दै आएको उनले बताइन् ।

उनले अहिले फेसनकै कारणले महिलाहरूमा हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन बढेको जानकारी दिइन् । ‘अहिले त फेसनै हो, सबैले लगाउँछ ।’ उनले भनिन् ।

त्यस्तै रामेछापकी ट्याम्पु चालक विमला श्रेष्ठ पनि काम गरेरै साउन १ गते मनाइ रहेकी छन् । उनले कामको व्यस्तता भएपनि हातमा चुरा र पोते लगाएर साउने सङ्क्रान्ति मनाएको बताइन् ।

उनी भन्छिन् ‘काम गरेरै साउन मनाइरहेका छौँ । चुरा पोते लगायौँ । तर मेहेन्दी चैँ लगाएनौँ । घरमा पनि बाहिर पनि आफै काम गर्नुपर्छ । मेहेन्दी चैँ लगाइएन चुरा पोते चैँ लगाइयो ।’
उनले घरमा पनि आफैले काम गर्नुपर्दा मेहेन्दी लगाउने फुर्सद आफूसँग नभएको सुनाइन् । उनले बिहान ४ बजे काममा लाग्नु पर्ने र बेलुकी घर पुग्दा ८ बज्ने भन्दै राम्ररी साउन मनाउन नपाएको गुनासो गरिन् ।

‘बिहान ४ बजे नै काममा लाग्छौँ । बेलुकी ८ बज्छ । गएर खाना पनि आफैले बनाउने हो । बिहान पनि खाना बनाएरै ल्याउँछु । मन्दिर जान त भ्याउँदै भ्याइन्दैन् । बिहान नजिकै गएर धुपसुप बालेर आइयो ।’ उनले भनिन् ।

उनले पर्वका कारण भन्दा पनि गरी खान पाएकोमा आफू एकदमै खुसी भएको बताइन् ।

त्यस्तै रामेछापकी अर्की ट्याम्पु चालक योगमाया सुनुवारको भने साउनमा हरियो चुरा, पोते र मेहेन्दी लगाउने सन्दर्भमा फरक मत रहेको छ ।
गाउँमा टिका लगाएर मासु, भात खाएर साउने सङ्क्रान्ति मनाउने चलन रहेको उनी बताउँछिन् । तर हाल कामको व्यस्तताले नभ्याएर चुरा र मेहेन्दी नलगाएको उनले बाइन् ।

उनले भनिन् ‘हामी बिहानै उठ्दा पसल खुलेको हुदैँन् । ट्याम्पु राखेर घर हिँड्ने बेला पसल बन्द भएको हुन्छ ।  भरे घर पुगेपछि आफन्त, छोराछोरी सँगै मिठो भोजन गरेर मनाउनु पर्छ ।’

उनले हरियो मेहेन्दी, चुरा र पोते नलगाए पनि बेलूकी परिवारसँगै बसेर रमाइलो गर्ने योजना गरेको बताइन् । उनले भाइरल चुरा–पोते लगाउनै पर्छ भन्ने नरहेको बताइन् । भनिन् ‘भाइरल चुरा पोते लगाएर मनाउनु पर्छ भन्ने छैन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =