तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप अभियान सम्पन्न गरेको छ ।

नगरपालिकाले गत वर्ष पशुमा महामारीको रूपमा देशभर फैलिएको लम्पीस्किन रोगविरुद्ध यस वर्ष नगरपालिकाले चार हजार ८५२ पशुलाई लम्पीस्किन रोगविरुद्धको खोप लगाएको हो ।

गत जेठ ३ गतेदेखि जेठ २२ गतेसम्म नगरपालिकाका १७ वडामा चार हजार आठ सय ५२ पशुलाई उक्त खोप लगाइएको नगरपालिकाको पशु शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिए ।

गत वर्ष नगरपालिकाले कृषकको गोठमै पुगेर लम्पीस्किन रोगविरुद्ध खोप लगाएको थियो । यसका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्न २० लाख विनियोजन गरेको प्रमुख भुसालले बताए । यस वर्ष रोग भित्रिनु अगाडि नै सो रोगविरुद्धको खोप लगाइएको उनको भनाइ छ ।

गत वर्ष नगरपालिकामा ४ हजार ७४८ पशुलाई खोप लगाइएको थियो भने ८३६ पशु सो रोगबाट सङ्क्रमित भएका थिए ।

उक्त रोगबाट १०६ पशुको मृत्यु भएको प्रमुख भुसालले बताए । लुम्बिनी प्रदेशमा लम्पीस्किन रोगबाट अहिलेसम्म नौ हजार ६११ पशुको मृत्यु भएको छ भने एक लाख ९२ हजार १८ पशु सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =