वैदेशिक रोजगार पलायन होइन, आर्थिक अवसर हो : श्रम सचिव

‘ठूला बडा’का सन्तान विदेश बस्दा राष्ट्रियता, गरिबका छोराछोरी काममा जाँदा पलायन ?

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीलाई ‘पलायन’ को संज्ञा दिने भाष्यप्रति कडा आपत्ति जनाएका छन् । उनले यो भाष्य विपन्न नागरिकमाथि शासन गर्न ‘ठूला बडा’ हरूले फैलाएको षड्यन्त्रपूर्ण न्यारेटिभ भएको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पुष्करले वैदेशिक रोजगारलाई पलायन नभई आर्थिक गतिविधिका स्रोत र अनुभव सिक्ने अवसरका रूपमा बुझ्नुपर्नेमा जोड दिए । उनले समाजमा रहेको दोहोरो मापदण्डप्रति प्रश्न उठाउँदै भने, ‘ठूला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने, तर नेपालमा श्रम नपाएर हाम्रा नागरिक साउदी, कतार, मलेसियाजस्ता देशमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ?’

सचिव पुष्करले यो ‘पलायन’ को भाष्य शासक वर्गले आर्थिक रूपमा कमजोर र सोझा जनतालाई नियन्त्रणमा राख्न प्रयोग गरेको एक संयन्त्र भएको तर्क गरे । ‘शोषकहरूले यसलाई शासन गर्ने संयन्त्रका रूपमा होइन, षड्यन्त्रका रूपमा लिएका छन् । त्यसैले ठूलाबडाहरू जहिले पनि वैदेशिक रोजगारलाई पलायन भन्छन्,’ उनले भने ।

कार्यक्रममा उनले वैदेशिक रोजगारबारे सिर्जना गरिएको गलत भाष्यलाई प्रस्ट्याउँदै भने, ‘एउटा गलत न्यारेटिभ्स नेपालमा के देखिएको छ भने श्रम आप्रवासनलाई पलायन, पलायन, पलायन भन्ने गरिएको छ । बुझेर हो कि नबुझेर हो हामीलाई थाहा छैन । तर वैदेशिक रोजगार पलायन होइन । यो ‘ब्रेन ड्रेन’ वा ‘फ्लाइट’ होइन । यो ‘सोर्स अफ इकोनोमिक एक्टिभिटिज’ हो, अनुभव सिक्ने अवसर पनि हो । ठूला बडाका सन्तान विदेशमा पढ्न जाने, उहीँ पिआर लिने, ग्रिन कार्ड लिने, त्योचाहिँ पलायन होइन रे । तर हाम्रा रोजगार नपाएका नागरिकहरू साउदी, कतार, दुबई, मलेसियामा गएर काम गर्दा पलायन भएको हुन्छ ?’

आफ्नो दाबीलाई पुष्टि गर्न अध्यागमन विभागको तथ्यांक प्रस्तुत गर्दै उनले हालसम्म करिब ५५ लाख नेपाली विदेश गएकोमा ४५ लाखभन्दा बढी स्वदेश फर्किसकको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =