शेखर पक्षधर नेताहरु भन्छन्ः ‘अनुशासन समितिबाट भएको कारबाही स्वीकार्य छैन’

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको छ ।

बिहीवार संस्थापन इतर पक्षका नेता डा. शेखर कोईरालाको सचिवालयमा भएको संस्थापन इतर समूहले अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको हो । नेताहरुले विधानतः कारबाही सही नरहेको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद एवं संस्थापन इतर पक्षधर नेता राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने काँग्रेसको विधान रहेको भएपनि करिव तीन वर्षपछि कारबाही गरिनु गलत भएको बताए ।

उनले गठबन्धनको उम्मेदवार हराउन लागेको भन्ने आधार बनाएर अहिले कारबाही गर्नु उचित नरहेको तर्क गरे । आसन्न निर्वाचन २०८४ र त्यो भन्दा अघि पनि मध्यावधिको रुपमा पनि हुनसक्ने स्थितिलाई हेरेर कारबाही गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । भेलामा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको छ ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताए । सिंगो पार्टीको हित र विधान विपरित गइ कारबाही गरिएको भन्दै यसलाई स्वकार्न नसकिने बताए ।

उनले १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले कारबाही भएको आरोप लगाए ।

अनुशासन समितिको कारबाहीमा परेका काँग्रेस खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले पार्टीको विधान भन्दा बाहिर गएर कारबाही गरिएको भन्दै आपत्ति जनाए ।

पार्टीको विधान भन्दा बाहिर गएर पार्टीलाई क्षति पु¥यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान भएपनि त्यो प्रावधानको उपयोग हुन नसकेको बताए । आफूहरु विपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको बताए । पार्टी विचार, सिद्धान्त र ट्रयाक भन्दा बाहिर गइरहेको बताए । ‘पार्टीको विधान भन्दा बाहिर गएर पार्टीलाई क्षति पु¥यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान थियो । त्यो प्रावधानलाई उपयोग गर्दा कुन ढंगले उपयोग गरेको छ, त्यसको अन्तर्यलाई बुझ्नुपर्छ । यो आग्रह र पूर्वाग्रहबाट प्रेरित छ । विपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको हो । अहिलेको नेतृत्वहरु जान्दैनौँ । पार्टी विचार, सिद्धान्त र ट्रयाक भन्दा बाहिर गइरहेको छ’ उनले भने ।

अर्का काँग्रेस नेता एवं अनुशासन समिति सदस्य सञ्जय गौतमले अनुशासन समितिमा २१ सय भन्दा बढी मुद्दाहरु रहेको बताए ।

कतिपय केन्द्रिय सदस्यका, पदाधिकारीका मुद्दाहरु पनि रहेको बताए । अनुशासन समितिका बहुमत सदस्यहरुले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको र यो राम्रो नभएको बताए ।

उनले निष्कासन गर्नेकुरा अन्तिम रहेको र त्यहाँ पुग्ने स्थिति नरहेको बताए ।

काँग्रेस नेता गुरु घिमिरेले अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरित रहेको बताए ।

उनले यो अवैधानिक र पक्षपातपूर्ण रहेको बताए । पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित रहेर कारबाही गरिएको उनको आरोप छ ।

कारबाहीबारे अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेख्नुभएको पनि जानकारी गराए । ‘अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरित छ । अवैधानिक छ । यो पक्षपातपूर्ण र गुट प्रेरित छ । पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित छ । यो निर्णय बहुमत र अल्पमतका आधारमा गरिएको छ । अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेख्नुभएको छ’ उनले भने ।

नेताहरुले राजनीतिक रुपबाट अभिप्रेरित भएर कारबाही गरिएको बताए । अनुशासनको कारबाहीको प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई स्मरण गराउने सहमति भएको बताए । केन्द्रिय समितिबाट कारबाहीबारे अन्तिम टुंगो लाग्ने जिकिर गरेका छन् ।

पार्टीभित्र प्रतिष्पर्धी समूहलाई पेल्ने प्रयत्नको शालिन र सभ्य रुपबाट हुने बताए । नेपाली काँग्रेसको अनुशासन समितिले पार्टीको हित विपरित काम गरेको र गत निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई नसघाएको भन्दै केही नेता कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =