काठमाडौं टावरको निर्माण नरोक्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं टावरको काम नरोक्न अन्तरिम आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले जारी गरेको निर्माण रोक्नेसम्बन्धी पत्रविरुद्ध ठेकेदार कम्पनी स्वच्छन्द बिकोई बिल्डर्स अदालत पुगेको थियो ।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै महानगरको निर्णय कार्यान्वयन नगर्न भनेको हो । आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण जारी राख्न बाटो खुलेको छ ।
अदालतले ठेकेदार कम्पनीले तला थप्न महानगरबाट अनुमति लिएको, नक्सा स्वीकृत भइसकेको र दस्तुरसमेत तिरेको उल्लेख गर्दै निर्माण कार्य रोक्दा वैध अपेक्षामा आघात पुग्ने ठहर गरेको हो ।
‘निर्माण कार्यलाई निरन्तरता दिनु उचित देखिन्छ,’ आदेशमा भनिएको छ, ‘यस अवस्थामा काम रोक्नु ठेकेदारको वैध अधिकार र लगानीमा प्रतिकूल असर पार्न सक्छ ।’
महानगरले गत ९ माघमा स्वच्छन्द बिकोई बिल्डर्सलाई पत्र पठाएर काठमाडौं टावरको निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । तर सो निर्णयविरुद्ध कम्पनी उच्च अदालत पुगेको थियो ।








