किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छ : सांसद साउद

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाइँको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद साउदले यस्तो बताएका हुन् ।
उनले किसानले समयमै मल नपाउँदा धानको उत्पादकत्वमा कमी आउँदा खाद्य सुरक्षामै असर पर्ने बताए । उनले जेठ महिनामै धान रोपाइँ सुरु हुने कञ्चनपुरलगायतका जिल्लामा समेत मल उपलब्ध नभएको भन्दै आपत्ति जनाए । उनले किसानको लगानी, श्रम र आशामाथि तुषारापात गर्न नहुने बताए ।
उनले भने ‘धान रोपाइँ चलिरहेको बेला किसानहरूलाई समयमै मल उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको छ । जेठ महिनामै रापाईं सुरु हुने कञ्चनपुर लगायतका जिल्लाहरूमा समयमा मल उपलब्ध गराउन सकिएको छैन । कृषकहरूको ठूलो लगानी, श्रम र आशामा तुषारापात भयो भने हाम्रो बर्सभरिकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति समेत जोखिममा पर्ने देखिन्छ । कृषि प्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैँमा एउटा विडम्बना भएको छ ।’
सांसद साउदले मल आपूर्तिको समस्याको समाधानका लागि दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरे ।








