सरकारलाई प्रचण्डको आग्रह- ‘तत्काल उद्धारमा जुट’, कार्यकर्तालाई राहतमा खटिन निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा तत्काल जुट्न सरकारसँग जोडदार माग गरेका छन् । उनले आफ्नो पार्टी पंक्तिलाई पनि विपद्को यस घडीमा उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएका हुन् । 

मंगलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुललगायतका महत्वपूर्ण भौतिक संरचनामा गम्भीर क्षति पुर्‍याएपछि अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धार र पीडितहरूका लागि राहतको व्यवस्था गर्न सबै सरकारी संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ‘भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुललगायत धेरै महत्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ । बाढीले भएको क्षतिप्रति म गहिरो दु:ख व्यक्त गर्दछु । प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु ।’

अध्यक्ष प्रचण्डले मौसमविद्हरूले यस वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भ उल्लेख गर्दै सरकारलाई उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस पूर्वतयारी गर्न पनि आग्रह गरेका छन् । विपद्को सामना गर्न पूर्वतयारीको महत्वमाथि जोड दिँदै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने बताए । विपत्को यो संकटपूर्ण घडीमा धैर्य रहन आग्रह गर्दै उनले माओवादी केन्द्रका सम्पूर्ण नेता-कार्यकर्तालाई उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न विशेष निर्देशन दिएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =