मालवाहक कन्टेनरहरू बगायो, भन्सार यार्डमा क्षति : प्राधिकरण (अपडेट)

काठमाडौं । छिमेकी राष्ट्र चीनको भूभागमा भएको मुसलधारे वर्षाका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल र चीनबीचको प्रमुख स्थलमार्ग जोड्ने मितेरीपुललाई ध्वस्त बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे उर्लिएर आएको भेलले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढी स्थित पुललाई पूर्ण रूपमा बगाएको हो ।
नेपालको उत्तरी छिमेकीसँगको महत्वपूर्ण व्यापारिक तथा पर्यटकीय स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्राधिकरणले जनाएअनुसार, मध्यरातमा आएको लेदोसहितको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको थियो । बाढीले यार्डमा पार्किङ गरी राखिएका केही मालवाहक कन्टेनरहरू बगाएर क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
हालसम्म बाढीबाट कुनै मानवीय क्षति भएको आधिकारिक जानकारी नआए पनि नदीमा पानीको बहाव अझै पनि उच्च र खतरनाक रहेको छ । यसैलाई मध्यनजर गर्दै प्राधिकरणले नदीतटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन र विशेष सावधानी अपनाउन अपिल गरेको छ ।
विपत्तिको स्थितिलाई ध्यानमा राख्दै प्राधिकरणले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरोकारवाला निकायहरूलाई कुनै पनि आपत्कालीन अवस्थाको सामना गर्न उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।








