प्रतिनिधिसभा बैठक आज, महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को तल्लो सदन, प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजे बस्ने बैठकले चालू आर्थिक वर्षको बजेटसँग सम्बन्धित विधेयकहरूलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउनेदेखि नयाँ विधेयकहरू प्रस्तुत गर्नेसम्मका कार्यहरू गर्नेछ ।
आजको बैठकको मुख्य प्राथमिकतामा सरकारको वार्षिक बजेटसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकहरू रहेका छन् । राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई प्रतिनिधिसभाका सचिव हर्कराज राईले टेबुल गर्ने कार्यसूची छ ।
यसैगरी, राष्ट्रियसभाबाटै प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ सम्बन्धी सन्देश पनि आजको बैठकमा पेस हुनेछ । यी विधेयकहरूले मुलुकको कानुनी प्रणाली र भन्सार प्रशासनमा समयानुकूल सुधार गर्ने लक्ष्य राखेका छन् ।
बैठकमा सरकारले दुईवटा नयाँ विधेयकसमेत प्रस्तुत गर्ने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ सदनसमक्ष प्रस्तुत गर्नेछन् ।
त्यस्तै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विधायिकी कार्यका अतिरिक्त आजको बैठकमा मुलुकको वित्तीय अनुशासन र पारदर्शिताको ऐना मानिने महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन पनि पेस हुँदैछ ।








