माधव नेपाललाई ‘मरेको सिनो’भन्ने रामकुमारीलाई पार्टीबाट निष्कासन गर्न माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को आइतबार बसेको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीमाथि कारबाही गर्नुपर्ने माग चुलिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा अधिकांश नेताहरूले झाँक्रीको पछिल्लो अभिव्यक्तिलाई गम्भीर मान्दै उनीमाथि कारबाही गरिनुपर्ने धारणा राखेका हुन् । कतिपय नेताहरूले त पार्टीबाटै निष्कासन गर्नुपर्ने मागसमेत गरेका छन् ।

झाँक्रीले गत शनिबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा पार्टी पुनर्गठनको एजेन्डा उठाउँदै, ‘सिनो बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि पार्टीले झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो ।

बैठकमा नेताहरू मेटमणि चौधरी, शेरबहादुर कुँवर र राजेन्द्र राईले झाँक्रीलाई निष्कासन गर्नुपर्ने माग गरे । बेदुराम भुसालले कारबाही गर्नुपर्ने बताए पनि निष्कासनको विपक्षमा उभिए । महासचिव घनश्याम भूसालले भने पार्टीभित्रै कुनै न कुनै मौका दिनुपर्ने सुझाव दिए ।

‘कुनै न कुनै मौका दिनुपर्छ, तर अनुशासन उल्लंघनको कारबाही आवश्यक छ,’ उनले भनेका छन् ।

त्यस्तै, जयन्ती राईले पनि कारबाही त गर्नुपर्ने तर पार्टीबाटै हटाउने पक्षमा आफू नरहेको धारणा राखेकी थिइन् ।

बैठकमा आजको मुख्य एजेन्डा झाँक्रीको विषयमै केन्द्रित भएको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =