बैंकहरुको अनुगमन त्रैमासिक रुपमा अनिवार्य गरौँ : चन्दा कार्की

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले बैंकहरूको अनुगमन त्रैमासिक रूपमा अनिवार्य गर्नुपर्ने बताएकी छन् ।

छलफलमा बोल्दै उनले विधेयकमा प्रस्ताव गरिएको ६ महिनामा एकपटक अनुगमन हुने प्रावधानलाई घटाएर त्रैमासिक गर्नुपर्ने सुझाव दिइन् । उनका अनुसार समयमै अनुगमन भएमा जोखिम न्यूनीकरणमा टेवा पुग्छ ।

सांसद कार्कीले बैंक सञ्चालक बन्नका लागि स्नातक पासको शैक्षिक योग्यता मात्र राखिएको विषयमा पनि प्रश्न उठाइन् । उनले योग्य र अनुभवी व्यक्तिलाई मात्र बैंक सञ्चालक बनाउने व्यवस्था गर्नुपर्ने बताइन् ।

‘कानुन त बनाउँछौं, तर कार्यान्वयन हुँदैन,’ कार्कीले भनिन्, ‘त्यसैले कार्यान्वयन पक्षमा पनि समान ध्यान जानु आवश्यक छ ।’

उनले पछिल्लो समय राजस्व संकलन घट्दै गएको, बेरुजु बढिरहेको, र आर्थिक अनुशासन कमजोर भइरहेकोप्रति चिन्ता व्यक्त गरिन् ।

बैंकर र व्यवसायीलाई छुट्याउने व्यवस्था स्वागतयोग्य भएको उल्लेख गर्दै उनले विकासशील मुलुकमा यस्तो व्यवस्था स्वार्थको द्वन्द्व रोक्नका लागि गरिने बताइन् ।

सांसद कार्कीले वाफिया विधेयकमा बैंकसँग नजिक भएका व्यक्तिलाई ऋण नदिने व्यवस्था स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =