एलन मस्कको राजनीतिक इन्ट्री : ‘अमेरिका पार्टी’ गठन

काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले अमेरिकी राजनीतिको स्थापित दुई दलीय प्रणालीलाई सिधा चुनौती दिँदै ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल गठनको सनसनीपूर्ण घोषणा गरेका छन् । शनिबार आफ्नो प्लेटफर्म एक्समार्फत उनले गरेको यो घोषणाले अमेरिकी राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ ।
मस्कले डेमोक्रेट र रिपब्लिकन दुवै दलबाट वाक्क भएका अमेरिकी नागरिकलाई विकल्प दिने उद्देश्यले पार्टी गठन गरेको बताएका छन् । ‘आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्,’ मस्कले एक्समा लेखेका छन् । उनले दुवै दललाई भ्रष्टाचार र देशलाई बर्बाद गर्ने मामिलामा एउटै भएको आरोप लगाउँदै अब देशले दुई दलीय प्रणालीबाट मुक्ति पाउने दाबी गरे ।
यो घोषणाको आधारका रूपमा मस्कले जुलाई ४ अर्थात् अमेरिकी स्वतन्त्रता दिवसमा गरेको एक अनलाइन सर्वेक्षणलाई प्रस्तुत गरेका छन् । उनले सोधेका थिए, ‘के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनु पर्छ ?’ उक्त सर्वेक्षणमा ६५.४ प्रतिशत प्रयोगकर्ताले ‘हो’ मा र ३४.६ प्रतिशतले ‘होइन’ मा मतदान गरेका थिए । यही नतिजालाई उद्धृत गर्दै मस्कले भने, ‘तपाईंहरूमध्ये झन्डै ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुभएको थियो र अब तपाईंले त्यो पाउनुहुनेछ ।’
मस्कको राजनीतिक महत्त्वाकांक्षा र स्थापित नेताहरूसँगको टकराव नयाँ भने होइन । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘बिग ब्यूटीफुल बिल’ नामक एक विधेयकलाई लिएर उनको चर्को विवाद भएको थियो । सोही विवादपछि मस्कले आफू ट्रम्प प्रशासनको सल्लाहकार परिषद्बाट बाहिरिएको घोषणा गरेका थिए ।








