मैले भ्रष्टाचार गरेको प्रमाण दिए बलिदान दिन तयार छु : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाण दिन सक्ने जो–कोहीलाई खुला चुनौती दिएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जीवनभर अनुशासन, नियम र विधिको पालना गर्दै आएको दाबी गरे । उनले “नबिराउनु, नडराउनु” भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै आफू कहिल्यै पनि अनुचित कार्यको पक्षमा नलागेको स्पष्ट पारे ।

‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन,’ उनले भने ‘यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर प्रमाण दिन सकून्, म जुनसुकै बलिदान दिन तयार हुनेछु ।’

पूर्वप्रधानमन्त्री नेपालले आफू सधैँ प्रक्रियाप्रति प्रतिबद्ध रहेको र बदला वा प्रतिशोधको भावना नराखी राजनीतिमा अघि बढ्ने प्रयास गर्दै आएको बताए ।

‘म अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, राम्रो संस्कृति र संस्कारमा जोड दिने, कहिल्यै पनि बदलाको भावनाबाट नहिँड्ने मान्छे हुँ,’ उनले भने, ‘सकेसम्म सबैलाई समेटेर लैजाने सोच लिएको छु ।’

कार्यक्रममा अध्यक्ष नेपालले जीवनमा आएका विभिन्न चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपर्ने सन्देश समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =