अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच बिहीबार फोनवार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार फोनमा कुराकानी हुने भएको छ ।
यसै गरी, राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शुक्रवार फोनवार्ता गर्नुहुने युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपी जानकारी गराएका छन् ।
गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्प दुवै नेतासँग नियमित सम्पर्कमा रहनुभएको छ र उहाँले करिब साढे तीन वर्ष लामो द्वन्द्व अन्त्यका लागि दबाब दिइरहनुभएको छ ।
पुटिन र ट्रम्प दुवैले बिहीबारको वार्तामा के छलफल गर्ने भन्नेबारे केही बताएका छैनन् ।
यसअघि युक्रेन द्वन्द्व र आर्थिक सहयोगजस्ता विषयमा छलफल गरेका दुई नेताबीच बिहीबार के विषयमा छलफल हुनेछ भन्नेबारे ती देशका प्रशासनले जानकारी गराएका छैनन् ।
मस्कोको एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा पुटिनले ट्रम्पसँग फोनवार्ता हुनलागेको भन्ने कुराको पुष्टि गर्दै संक्षिप्तमा भने, “हो, म आज अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नेछु ।”
ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको आह्वानलाई पुष्टि गर्दै अमेरिकी समयअनुसार बिहान १०:०० बजे वार्ता सुरु हुने बताइएको छ ।
मस्कोले युक्रेनमाथि जारी आक्रमणका बावजुद यी दुईले हालैका हप्ताहरूमा एक अर्काको प्रशंसा गरेका छन् ।
पुटिनले गत हप्ता ट्रम्पप्रति आफ्नो ठुलो सम्मान रहेको र केही कठिनाइका बाबजुद पनि अमेरिकी सम्बन्धमा सुधार भइरहेको बताएका थिए भने अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रतिक्रिया ‘निकै राम्रो’ भएको बताएका थिए ।









