रास्वपाले गर्यो ७ निर्णय, रुपन्देहीमा उम्मेदवार खोज्ने, संसद अवरोध निरन्तर !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा ७ वटा निर्णयहरू गरिएका छन् ।
आज बसेको बैठकमा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न र गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको अडान कायम राख्ने विषयमा छलफल भएको छ ।
यस्तै पार्टीले संसद्को राज्य व्यवस्था समितिबाट पारित सघीय निजामती सेवा विधेयकको प्रतिवेदनलाई प्रतिनिधि सभाबाट पास गरिँदा कलिङ अफ पिरियडको व्यवस्थामा गरिएको हेरफेरलाई संविधानको संसद्को सार्वभौमिकतामाथि प्रहार भनेको छ ।
यसलाई ‘बदमासीपूर्ण छलछाम’को रुपमा लिई दोषीमाथि छानबिन र कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग राखिएको छ ।
पार्टीले यो विषयमा संसदमा भइरहेको प्रतिरोधलाई जारी राख्ने प्रतिवद्धता जनाएको छ । कानुन बनाउने विधायकी भूमिकामा कुनै पनि चलखेल सह्य नहुने रास्वपाले जनाएको छ ।
पार्टीको सचिवालय बैठकमा आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने प्रक्रिया माथि पनि छलफल गरिएको छ ।
बैठकमा प्रस्तुत उम्मेदवार छनोट विधिमा व्यापक छलफल भएको र यसमा प्राप्त सुझावहरूलाई ध्यानमा राखेर आगामी आइतबार हुने बैठकमा अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ ।
पार्टीले रुपन्देही ३ मा स्थानीय नागरिक र पार्टी शुभेच्छुकहरूको चाहना अनुसार योग्य र सक्षम उम्मेदवार चयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
सचिवालय बैठकमा पार्टीका केन्द्रीय विभागहरूको कार्ययोजना र आगामी कार्यहरूको पनि समीक्षा गरिएको छ ।
विभाग प्रमुखहरूले रिक्त पदहरूको पूर्ति र विभागहरूलाई सक्रिय बनाउने विषयमा पहल लिनुपर्ने निर्देशन दिइएको छ । २०८२ असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन आगामी ७ गते भित्र पेस गर्नुपर्ने निर्णय भएको छ ।
साथै, पार्टीले प्रदेशस्तरीय विभागहरू गठन गर्ने प्रक्रिया २०८२ असार मसान्तसम्म सम्पन्न गर्ने उद्देश्य पनि राखेको छ ।
केन्द्रीय सङ्गठन विभागको प्रस्ताव अनुसार, ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएका पालिकामा मात्र पालिका अधिवेशन गर्न सक्ने व्यवस्था संशोधन गरी ५० प्रतिशत वडा अधिवेशन भएका पालिकामा पनि पालिका अधिवेशन गर्न सक्ने निर्णय गरिएको छ ।
यसले सङ्गठनको अवस्था चित्रित गर्ने र आगामी कार्यहरूको ढांचा तयार पार्ने मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
सचिवालय बैठकले केन्द्रीय सङ्गठन विभागको सदस्यका लागि तीन नयाँ सदस्यहरूको मनोनयन गर्ने निर्णय पनि गरेको छ । जसमा प्रमीला भुसाल, (चितवन) सुशील अधिकारी, (दाङ) र मानकुमार लामा, (चितवन) रहेका छन् ।








