५२ संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दामा फैसलाको अन्तिम तयारी

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली (हाल पनि प्रधानमन्त्री)द्वारा संसदीय सुनुवाइबिना गरिएको ५२ संवैधानिक पदाधिकारी नियुक्तिको वैधानिकता सम्बन्धी रिटमाथि फैसला सुनाउने अन्तिम तयारी गरिरहेको छ ।
यसअघि जेठ २८ गते नै फैसला सुनाउने भनिए पनि पछि मिति सरेर असार १८ गते (आज)लाई तोकिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूबीच अहिले छलफल चलिरहेको छ । छलफलपछि निर्णय तयार पारिने र इजलासमा सार्वजनिक रूपमा सुनाइने बताइएको छ ।
फैसला आजै सुनाइने तयारीमा रहेको छ । कानुन व्यवसायीहरू सर्वोच्चको संवैधानिक इजलासमा उपस्थित भइसकेका छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदी रहेका छन् । उनीहरूले पछिल्लो केही महिनायता माघदेखि नियमित सुनुवाइ गर्दै आएका थिए ।
५२ पदाधिकारी नियुक्तिको विषयमा १५ वटा रिट निवेदन परेका थिए । यिनमा तत्कालीन संवैधानिक प्रक्रिया उल्लंघन गरिएको दाबी गर्दै नियुक्तिहरू बदर गर्न माग गरिएको छ ।








