सांसदको लोगो लगाएर हिँड्दा जनताले भेडा–बाख्राजस्तो भन्छन् : पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले संसदप्रतिको जनविश्वास खतरामा परेको बताएका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो प्रकरण ‘त्रुटी’ नभई ‘बद्मासी र षड्यन्त्र’ भएको टिप्पणी गरे । ‘सचिवज्यूसँग सोध्दा त्रुटी भयो भन्नुहुन्छ, तर यो सामान्य गल्ती होइन, गम्भीर बद्मासी हो,’ उनले भने ।

उनले भने, ‘सांसदको लोगो लगाएर हिँड्दा जनताले भन्छन्– के ऐन बनाउँछन् यिनीहरू ? पढ्ने त फुर्सद छैन रे, ताली बजाएर पास गरिदिन्छन् रे । यिनीहरू त भेडा–बाख्राजस्ता रहेछन् ।’

पाण्डेले यसले सम्पूर्ण सांसदको छवि र विश्वसनीयतामा गम्भीर ह्रास ल्याएको दाबी गरे । ‘हामी अब अविश्वासी भइसकेका छौं,’ उनले भने, ‘यसले प्रणालीमाथि नै प्रश्न उठाएको छ ।’

उनले समितिको निर्णयको उल्टो प्रतिवेदन तयार गरेर संसदमा पठाइनु कुनै सामान्य प्रशासकीय त्रुटी नभई नियोजित षड्यन्त्र भएको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरे ।

‘उहाँहरू कतैबाट गाइड भएर चल्नुभयो कि समितिले दिएको कुरा पठाउनुभयो ? छानबिन हुनुपर्छ,’ पाण्डेले भने, ‘छानबिन नभए यो प्रकरणले गम्भीर समस्या निम्त्याउनेछ ।’

पाण्डेले कुलिङ पिरियडको विवादले प्रणाली सुधारको बहसलाई तातो बनाइदिएको उल्लेख गर्दै, अब संसदभित्र गम्भीर आत्ममूल्यांकन आवश्यक भएको धारणा पनि राखे । साथै, राष्ट्रिय सभाबाट विधेयक सच्याएर अघि बढाउनु पर्ने सुझाव पनि दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 9 =