जुम्लाको राक्से पाटनमा पहिरो, १३ भेडा र एक घोडा पुरिए

कर्णाली । जुम्लाको तातोपानी गाउँपालिका–८ स्थित राक्से पाटनमा सोमबार दिउँसो पहिरो जाँदा १३ वटा भेडा र एक घोडा पुरिएको छ । लगातारको वर्षासँगै आएको पहिरोले चरिरहेका भेडापंक्तिलाई पुरेको हो ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजेको समयमा पाटन क्षेत्रमा चरिरहेका अवस्थामा एक्कासि पहिरो खस्दा भेडा र घोडाको ज्यान गएको हो । तातोपानी टोप्लाका प्रहरी इन्चार्ज गणेशबहादुर बलायरले घटनास्थलमा पुगी प्रारम्भिक विवरण संकलन गरेको जानकारी दिए ।

‘कुहिरो र झरीका कारण कति संख्यामा क्षति भयो भन्ने यकिन भइसकेको छैन,’ इन्चार्ज बलायरले बताए । घटनास्थल ८ घण्टाको पैदल दूरीमा रहेकोले सुरक्षाकर्मी र स्थानीयवासी घटना स्थलमै पुगेर भेडा सङ्कलन कार्यमा जुटेका छन् ।

तातोपानी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तिलक रावतले पनि पहिरोबाट ठूलो सङ्ख्यामा भेडा मरेको आशंका व्यक्त गरे । ‘वास्तविक क्षतिको विवरण आउन अझै केही समय लाग्छ,’ उनले भने ।

घटनामा भेडा गुमाएका कृषक टेकराज रावतका अनुसार उनीसहित आठ जना भेडापालकका पशु चरिरहेका बेला पहिरो खसेको हो । कृषकहरूले अहिले आ–आफ्ना भेडाहरू जम्मा गर्दै क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।

स्थानीय प्रशासनले पहिरोका कारण थप जोखिम हुन सक्ने भन्दै भेडापालकहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =