कुलिङ पिरियडमा भएको चलखेल क्षम्य हुन सक्दैन : शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले निजामती सेवा सम्बन्धी विधेयकको कुलिङ पिरियड व्यवस्थामा गरिएको हेरफेर क्षम्य गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभई अक्षम्य अपराध भएको दाबी गरे । ‘राजनीति केही छैन भनेपनि हुन्छ,’ कोईरालाले भने, ‘हामी कति गन्धा खेल खेलिरहेका रहेछौं भने संसदको समितिबाट सर्वसम्मत पारित भएको कुरा संसदमा पुग्दा हेरफेर हुन्छ। त्यो त सरासर अपराध हो ।’

उनले दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए । ‘जो दोषी छन्, तिनीहरूलाई कुनै हालतमा क्षमा गर्न हुँदैन । यसरी गर्न थालियो भने देश कता जान्छ ?’ भन्ने प्रश्नसमेत उनले उठाए ।

राज्य व्यवस्था समितिबाट पारित विधेयकमा अवकाश वा राजीनामा दिएको दुई वर्षभित्र कुनै पनि कर्मचारीलाई संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्तिमा नियुक्ति दिन नपाइने प्रावधान राखिएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने क्रममा त्यसमा फेरबदल गरी नियुक्तिको बाटो खुला गरिएको छ । उक्त विषयमा अहिले चौतर्फी आलोचना भइरहेका छन् ।

सांसद कोईरालाले राजनीतिमा निष्ठा आवश्यक रहेको उल्लेख गर्दै अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक र आर्थिक अवस्था सुधार गर्न राजनीति नै प्रमुख साधन भएको बताए । ‘नेपालको राजनीति ठिक भए मात्र सबै क्षेत्र सुधार हुन्छ,’ उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =