सुनचाँदी व्यवसायीको प्रदर्शन : ‘हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे’

काठमाडौं । राजधानी काठमाडौंमा सुनचाँदी व्यवसायीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र रत्न तथा हिरामा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने मागसहित व्यवसायीहरूले सोमबार विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगायतका संघसंस्थाको अगुवाइमा भएको प्रदर्शनमा सहभागी व्यवसायीहरूले ‘सरकार सुन दे, उच्च कर हटाउ’, ‘उपभोक्तामारा नियम चाहिँदैन’, ‘हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे’ जस्ता नारा लगाएका थिए ।

व्यवसायीहरूका अनुसार सुनचाँदी महँगो भइसकेको अवस्थामा थप कर लगाउनु उपभोक्ता र व्यवसाय दुवैका लागि मारक बन्नेछ । उनीहरूले सरकारसँग व्यवसायमैत्री नीति ल्याउन र स्पष्ट नियमावली बनाउन माग गरेका छन् ।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले सुनचाँदी क्षेत्रमा लगाइएको कर अव्यवहारिक भएको आरोप लगाए । ‘सुनचाँदी महँगो भइरहेका बेला कर थोपार्नु अनुचित हो,’ उनले भने, ‘विलासिता कर र रत्न आभूषणमा लगाइएको भ्याट खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

उनले यो माग व्यवसायी मात्र होइन, आम उपभोक्ताको पनि भएको दाबी गरे । ‘हामीलाई आन्दोलन गर्न बाध्य बनाइएको हो,’ अध्यक्ष बज्राचार्यले भने, ‘देशभित्रै हजारौंलाई रोजगारी दिइरहेको उद्योगलाई डुबाउने नियतसहित सरकारले कर नीति बनाएको देखिन्छ ।’

व्यवसायीहरूको भनाइमा अनुसार नेपाल र अन्य मुलुकहरूबीच सुनको मूल्यमा तोलामा २० देखि २५ हजार रुपैयाँसम्म फरक छ । मूल्यमा यस्तो अन्तर आउनु सरकारको नीति कमजोरी भएको भन्दै व्यवसायीहरूले सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =