‘युवाको सिर्जनात्मक पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन’

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशको विकासमा युवाको सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रहरूमा युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘वर्तमान परिप्रेक्ष्यमा युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालका युवाहरू स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढून् भन्ने सबैको चाहना हो, तर त्यसका लागि दृढ संकल्पसहितको कदम जरुरी छ ।’

उनले युवाको जोश, चेतना र सिर्जनात्मकतालाई व्यवहारिक रुपान्तरण गर्न सबै क्षेत्रको सहयोग अपरिहार्य भएको बताए । युवाका विचारलाई व्यवसायिक योजनामा बदल्न सहजीकरण, हौसला र जोखिम लिन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘सरकार मात्र होइन, निजी क्षेत्र, शैक्षिक संस्थान र नागरिक समाज मिलेर यो साझा जिम्मेवारी पूरा गर्नुपर्छ,’ उपराष्ट्रपति यादवले भने, ‘यसले युवालाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातर्फ लैजान सहयोग पुग्नेछ ।’

उनले युवा उद्यमशीलताका लागि आवश्यक पुँजी, सीप र ज्ञानको पहुँच सुनिश्चित गर्न ढिलाइ गर्नु नहुने धारणा राखे । बजारको पहुँच, ब्राण्डिङ र व्यवसायिक योजना निर्माणमा मार्गदर्शन दिन राज्यका निकाय र सरोकारवालाहरु अग्रसर हुनुपर्ने बताउँदै, युवाको आवाजलाई नीति निर्माण प्रक्रियामा समावेश गर्न सबैको ध्यानाकर्षण आवश्यक भएको बताए ।

‘नयाँ सोच, प्रविधि र समाधानमार्फत सामाजिक तथा आर्थिक समस्या समाधान गर्न आजका युवामा अपार सम्भावना छ । तिनलाई मार्गदर्शन, प्रेरणा र अवसर दिनु अब ढिलो गर्नु हुँदैन,’ उपराष्ट्रपति यादवले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =