टोखामा जुवाको खालमा प्रहरीको छापा, तीन महिलासहित ११ जना पक्राउ

काठमाडौं । काठमाडौँको टोखास्थित एक घरमा सञ्चालित जुवाको खालमा प्रहरीले छापा मारेको छ । आइतबार साँझ गरिएको उक्त कारबाहीमा प्रहरीले तीन महिलासहित ११ जनालाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ पनि बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जबाट खटिएको एक विशेष टोलीले गोप्य सूचनाका आधारमा टोखा नगरपालिका-१० मा रहेको एक घरमा छापा मारेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराका अनुसार जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई रङ्गेहात पक्राउ गरिएको थियो ।

एसपी बोहोराले भने, ‘विशेष सूचनाका आधारमा हाम्रो टोली परिचालित भएको थियो । घरभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई नगद र तास बरामद गरिएको छ ।’

पक्राउ पर्नेमा तीन जना महिलासमेत रहेको उनले पुष्टि गरे । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को जुवासम्बन्धी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त, महाराजगन्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =