घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा महिलाको मृत्यु

गुल्मी । घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एक महिलाको ज्यान गएको छ ।
मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार थापा आज दिउँसो काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । साँझ अबेरसम्म घर नफर्केपछि परिवार र स्थानीयहरूले खोजी गर्दा कीराचौर भिरमा खसेको अवस्थामा उहाँको शव फेला परेको हो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
मृतक थापाका दुई छोरा छन् भने श्रीमान् वैदेशिक रोजगारीका लागि दुबईमा रहेका छन् । थापाको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








