करुणामय मानव विकास संघद्वारा ८७ विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौँ । करुणामय मानव विकास संघले विभिन्न क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । संघले असार ६ गते बनेपाको जनज्योती माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै लगभग ८७ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो ।
कलेज तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिसँगै संघले विद्यार्थीहरूलाई पाठ्यसामग्री पनि वितरण गरेको छ ।
कार्यक्रममा संघका सदस्य नविन मानन्धरले संघले यो भन्दा अगाडी माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई मात्र छात्रवृत्ति वितरण गर्दै आएको जानकारी दिए । यद्यपि हाल भने संघले विश्वविद्यालय अध्ययनरत विद्यार्थीलाई समेत छात्रवृत्ति र पाठ्यसामग्री वितरणलगायतका सामग्री वितरण गरेको मानन्धरको भनाई छ ।
संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इमेज टेलिभिजनका महाप्रबन्धक रघुवरभक्त मानन्धर, वरिष्ठ साहित्यकार मोहन दुवाललगायतका अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
वि।सं। २०६२ सालमा स्थापना भएको संघले विभिन्न कार्यक्रममार्फत शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदैँ आएको छ । संघले सामाजिक सद्भाव कायम राख्दै शिक्षालाई आत्मनिर्भरताको मूल पाटो मान्दै विगत २० वर्षदेखी सामाजिक कार्यहरू गर्दै आएको छ ।








