जयवीर देउवाबारे स्टाटस लेखेका राप्रपा नेता सुजित केसी धरौटीमा रिहा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाबारे सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण पक्राउ परेका राप्रपा नेपालका युवा नेता सुजित केसी धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
केसीले जयवीर देउवाले तारे होटल हिल्टन खरिद गरेको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै स्टाटस लेखेका थिए । सोही विषयमा देउवा परिवारले प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेका थिए ।
जयवीर देउवाको तर्फबाट किटानी जाहेरीपछि सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोगपत्र दर्ता गर्दै केसीलाई पक्राउ गरिएको थियो ।
केसीलाई ६ दिन हिरासतमा राखिएको थियो। यसबीचमा उनका परिवारले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
आज अदालतमा केसीको पक्षबाट नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव केदार कोइराला र अधिवक्ता राजु बस्नेतले बहस गरेका थिए ।








