भीमसेन थापा पुरस्कार डा भेषबहादुर थापालाई प्रदान गरिने

काठमाडौं । नेपालको अर्थ र कूटनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका डा. भेषबहादुर थापालाई यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’ प्रदान गरिने भएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका महासचिव लक्ष्मण थापाका अनुसार, पुरस्कार आगामी साउन ९ गते राष्ट्रिय विभूति भीमसेन थापाको २५१औं जन्मजयन्तीको अवसरमा प्रदान गरिनेछ ।
पुरस्कार राशिमा नगद १ लाख रुपैयाँ सहित सम्मानपत्र समावेश गरिएको छ ।
डा. भेषबहादुर थापा विगत लामो समयदेखि अर्थशास्त्र, सार्वजनिक नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा क्रियाशील रहँदै आएका छन् । उनले विभिन्न समयमा नेपाल सरकारको तर्फबाट कूटनीतिक जिम्मेवारी, नीति निर्माण तथा परामर्शदाताको भूमिका निर्वाह गरेका छन् ।
प्रतिष्ठानले विगत तीन दशकदेखि इतिहास, नीति, समाजसेवा र शैक्षिक क्षेत्रमा योगदान गर्ने संस्था र व्यक्तिहरूलाई पुरस्कृत गर्दै आएको छ । गत वर्ष उक्त पुरस्कार मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई प्रदान गरिएको थियो ।








