वर्षाका कारण फोहर व्यवस्थापनमा अवरोध हुँदैन : काठमाडौँ महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यो वर्ष वर्षात्का कारण फोहर व्यवस्थापनमा विगतजस्तो समस्या नआउने दाबी गरेको छ । वर्षायाम सुरु भएसँगै सडक मर्मत, पहिरो रोकथाम र सिसडोल–बञ्चरेडाँडाको सुधारसँगै फोहर सहज रूपमा व्यवस्थापन हुने महानगरले जनाएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार, विगतका वर्षमा फोहर व्यवस्थापनको मार्गमा आउने पुनःपुनः समस्या समाधान भइसकेको छ । “सिसडोलमा क्यापिङ् गरेर फोहर छोपिएको छ, सडक मर्मत भइसकेको छ र पहिरोका संवेदनशील स्थानमा पर्खाल निर्माण भइसकेको छ,” राईले भनिन्, “अब नियमित वर्षात्को असर फोहर व्यवस्थापनमा पर्नेछैन ।”

हाल उपत्यकाबाट प्रत्येक दिन १,६०० मेट्रिक टन फोहर बञ्चरेडाँडामा लैजाने गरिन्छ, जसमा केवल काठमाडौं महानगरपालिकाबाट मात्रै ५०० मेट्रिक टन फोहर पुग्ने गरेको छ । दैनिक करिब २०० गाडीले फोहर ओसारिने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

कुल ३२ वडामध्ये भित्री ९ वटा वडा बाहेक अन्य वडाहरूमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ ।

फोहर वर्गीकरणलाई प्रभावकारी बनाउन महानगरले ३२ वडालाई ६ क्षेत्रमा विभाजन गरी स्रोतमै फोहर छुट्याउने अभियानलाई तीव्र बनाएको छ । २०६८ को फोहरमैला व्यवस्थापन ऐन र २०७७ को वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनअनुसार, उत्पादक स्वयंले फोहर छुट्याउनुपर्ने कानुनी व्यवस्था छ ।

उक्त ऐनअनुसार भान्सामा उत्पादन हुने जैविक र अजैविक फोहर अलगअलग भाँडामा राख्नुपर्ने नियम लागू गरिएको छ ।

महानगरका अनुसार, फोहरको अन्तिम गन्तव्य पहिले गोकर्ण, त्यसपछि सिसडोल र अहिले बञ्चरेडाँडा हुँदै आएको छ । तर, यस वर्षदेखि सडक र व्यवस्थापन पूर्वाधारमा सुधार गरिएकाले वर्षात्का बेला फोहर थुप्रिने समस्या न्यूनीकरण हुने आशा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =