नयाँ नेपाल निर्माणको अभियानमा आइएमई ग्रुपको योगदान महत्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आइएमई ग्रुपले नयाँ नेपाल निर्माणको अभियानमा आफूलाई उभ्याएको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एभरेष्ट फाइबर सिमेन्ट बोर्डको उद्घाटन तथा उत्पादन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले फाइबर बोर्डको उत्पादनले आयात प्रतिस्थापन गर्ने मात्र होइन, निर्यात प्रवर्द्धन गर्नसमेत भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
“यो उत्पादित वस्तुले विपद्का समयमा पुनर्निर्माणमा उपयोगी हुने विश्वास लिएको छु,” मन्त्री भण्डारीले भने, “भूकम्प, पहिरो, बाढी, आगलागीजस्ता घटनापछि तत्काल पुनःनिर्माणमा यसको प्रयोगले सहयोग पुर्याउनेछ ।”
मन्त्री भण्डारीले आइएमई ग्रुपले निराशाको बीचमा आशाको दियो बल्दै अघि बढेको टिप्पणी गर्दै, यस्तो कदमले देशभित्रै सम्भावना खोज्ने नयाँ दृष्टिकोणलाई प्रेरणा दिएको बताए ।
“देशमा निराशा छ तर केही गरेर देखाउने जिम्मेवारी निजी क्षेत्रले लिएको देखिन्छ,” उनले भने, “उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्ने अभियानमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्नेछ ।”
मन्त्री भण्डारीले उद्योग खोल्ने प्रक्रिया सहज नभएको उल्लेख गर्दै, निजी क्षेत्रलाई आवश्यक नीतिगत सहजता दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । “पुल, रेल वा घर बनाउन सकिन्छ तर उद्योग खोल्न जोखिम मोलेर अघि बढ्नुपर्छ,” मन्त्री भण्डारीले भने, “त्यसका लागि राज्यको नीति र समर्थन आवश्यक छ ।”
उनले आगामी वर्षको बजेटमा उद्योग क्षेत्रको हिस्सा ०.५ प्रतिशतमा सीमित रहेको स्वीकार गर्दै, नीतिमा बजेटभन्दा बढी प्राथमिकता दिनुपर्ने औंल्याए । “बजेटभन्दा नीति ठूलो कुरा हो । निजी क्षेत्रसँग पूँजी छ, त्यसलाई बाहिर ल्याउन नीतिगत अवरोध हटाउनुपर्छ,” उनले थपे ।
भण्डारीले निजी क्षेत्रसँगको लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालय सधैं छलफल र समन्वयमा तयार रहेको बताए। “हामीले उद्यमशीलता बढाउनुपर्ने हो, त्यसका लागि नीति सहज बनाउने काममा मन्त्रालय सधैं तयार छ,” मन्त्री भण्डारीको भनाइ थियो ।








