खेल्दाखेल्दै सेप्टिक ट्यांकीमा खसेर दुई नाबालकको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-१०, निबुवाटोलमा सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । घरआँगनमा सँगै खेलिरहेका दुई नाबालकको मंगलबार साँझ छिमेकीको शौचालयको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृत्यु हुनेमा स्थानीय गरिमा साहका दुई वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी दुई वर्षीया छोरी खुश्बु साह रहेका छन् । साँझ घरनजिकै खेलिरहेका ती दुवै बालबालिका छिमेकी हृदय पासवानको घरमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा अचानक खस्न पुगेका थिए । ट्यांकीको ढकनी खुला वा कमजोर रहेकाले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बालबालिका ट्यांकीमा खसेको थाहा पाउनासाथ परिवार र छिमेकीहरूले तत्कालै उनीहरूलाई बाहिर निकालेका थिए । उनीहरूलाई तत्काल उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूको प्रयासका बाबजुद दुवैलाई बचाउन सकिएन । अस्पतालले गएराति नै उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








