जापान, कोरिया र युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने तयारी अन्तिम चरणमा : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन् ।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले श्रमिक ठगिएको निवेदनको अध्ययनका आधारमा ठगीमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरिने समेत बताए ।
उनले विदेश जान लालायित नेपाली युवाहरूलाई अवैध एजेण्ट र दलालहरूले लुट्ने क्रम नरोकिएका कारण यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारले अनुसन्धान संयन्त्रलाई सक्रिय बनाएको उल्लेख गरे । उनले वैदेशिक रोजगारका लागि दक्ष र अर्धदक्ष नेपाली श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी भइरहेको समेत बताए । उनले अगामी जुलाई महिनादेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरु हुने जानकारी गराए ।
उनले भने ‘वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सिपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ । यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको छ । उच्च मानव अधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनको लागि तयारी भएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठुलो चिन्ताको विषय बनेको छ । यस्ता ठगेको उजुरी परेको खण्डमा नेपाल सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । वैदेशिक रोजगारीबाट फर्केका श्रमिक र स्रोतलाई उच्चतम उपयोग गर्नेगरी पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।’
उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई प्रयोग गर्ने पुनः एकीकरण कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रमलाई प्राथमिकता दिएको पनि जानकारी गराए ।








