सरकारले बनाएको समिति अपराधको ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ ।
मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको आपत्ति जनाएको हो ।
उनले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा दूधको साक्षी बिरालो भएको बताए । उनले दूधको साक्षी बिरालो राखेर समस्याको समाधान हुन नसक्ने जिकिर गरे ।
उनले जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर छानबिन समितिले विधिको शासन स्थापना नगर्ने बताए । उनले सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको जिकिर गरे ।
उनले सरकारको यो प्रोपोगाण्डाकाविरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुने बताए ।
उनले भने ‘यो १८ वर्षमा १४ जना गृहमन्त्री भएका छन् । यी १४ जना गृहमन्त्रीलाई अनुसन्धानको घेरामा ल्याउनुपर्छ । तर, अहिले दूधको साक्षी बिरालो । दूधको साक्षी बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त रु अहिले जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरूले नै कर्मचारीलाई राखेर जुन छानबिन समिति बनाए यसले विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन । यो निगाहा प्राप्त गरेको, एकैछिनको अझ अपराधको ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रोपोगाण्डा हो । यो प्रोपोगाण्डाका विरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुन्छौँ । यो छानबिन समितिले न्याय दिन सक्दैन ।’
उनले यो मान्छे बेच्ने प्रक्रिया भएको बताउँदै सङ्ख्याको आधारमा यो मुद्दालाई निस्तेज नपार्न समेत आग्रह गरे ।








