दैलेखको ग्याँस उत्खनन कार्य एक वर्षभित्र सुरु हुन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको जलजले क्षेत्रमा पाइने मिथेन ग्यासको उत्पादन परीक्षण कार्य एक वर्षभित्र सुरु गरिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयसँग सम्बन्धित छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले मन्त्रालयले आवश्यक योजना बनाइसकेको जानकारी दिए ।
उनले दैलेखको जलजले क्षेत्रमा गरिएको प्रारम्भिक अनुसन्धानले अत्यन्त उत्साहजनक नतिजा दिएको बताए । ‘चिनियाँ जियोलोजिकल सर्वे कम्पनीबाट आएको प्रारम्भिक रिपोर्टले सम्पूर्ण देशलाई आशावादी बनाएको छ,’ उनले भने, ‘एक वर्षभित्र उत्पादन परीक्षण कार्य अघि बढाउने गरी मन्त्रालयले योजना बनाएको छ ।’
भण्डारीले खानी तथा खनिज क्षेत्र नेपालको समृद्धिको आधार बन्ने स्पष्ट गर्दै सरकार ती क्षेत्रको उत्खनन तथा विकासमा प्राथमिकताका साथ लागिरहेको बताए ।
‘दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल र ग्यास अन्वेषण भएकोमा धेरै सांसदहरुले खुसी व्यक्त गर्नुभएको छ,’ मन्त्री भण्डारीले भने, ‘यसको प्रारम्भिक प्रतिवेदनले हामीलाई धेरै आशावादी बनाएको छ । उत्पादन परीक्षण अगाडि बढाउन मन्त्रालय गम्भीर तयारीमा जुटेको छ ।’
उनले सरकार औद्योगिक पार्कसहितका क्षेत्रमा समेत आवश्यक योजना बनाउँदै अघि बढिरहेको जानकारी पनि दिए ।








