बिर्तामोडमा जङ्गली हात्तीको आतंक, तीन घरमा क्षति

झापा । झापा बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीको समूहले तीन वटा घरमा क्षति पुर्याएको छ ।
सोमबार बिहान करिब ४ बजे शुक्रबारे टोलमा पसेको हात्ती समूहले स्थानीय बासिन्दाको घर र अन्नबालीमा नोक्सानी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, ३–४ वटा हात्तीको समूहले स्थानीय ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब रु १० हजार बराबरको क्षति भएको छ । हात्तीबाट जोगिन खोज्दा मनी सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको घरको सिमेन्टको पर्खाल भत्किँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । अर्की स्थानीय ४३ वर्षीया शिवकुमारी मगरको घर अगाडि रहेको भकारीबाट हात्तीले करिब १०० किलो चामल खाएर नोक्सानी पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
घटना पछि हात्तीको समूह देउनिया खोलातर्फ गएको स्थानीयवासीले बताएका छन् ।








