आक्रमणअघि नै केन्द्रहरू खाली गरिएको थियो, कुनै क्षति भएन : इरान

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका प्रमुख आणविक केन्द्रहरूमा आफ्नो सेनाले ठूलो हमला गरेको खुलासा गर्दै तेहरानलाई शान्तिको मार्गमा आउन कडा चेतावनी दिएका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यदि इरानले शान्तिको विकल्प नरोेजे थप सैन्य आक्रमणको सामना गर्नुपर्ने बताए । अमेरिकी हमलाको जवाफमा इरानले भने आफ्ना आणविक स्थलहरू आक्रमण हुनुभन्दा पहिल्यै खाली गरिसकेकाले कुनै ठूलो क्षति नभएको प्रतिदाबी गरेको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक केन्द्रहरू फोर्डो, नातान्ज र एस्फहानमा सफलतापूर्वक ‘ठूलो र सटीक’ आक्रमण गरेको बताएका थिए । ‘हाम्रो उद्देश्य इरानको आणविक संवद्र्धन क्षमतालाई ध्वस्त पार्नु र विश्वलाई आणविक खतराबाट जोगाउनु हो,’ उहाँले भने, ‘इरानले अब बुझ्नुपर्छ, उसले शान्तिको बाटो अँगाल्नुको विकल्प छैन ।’
यता, इरानले भने अमेरिकी दाबीलाई खण्डन गरेको छ । इरानको राज्य प्रशारकका उपराजनीतिक निर्देशक हसन अबेदिनीले आक्रमण भएका भनिएका तीनवटै आणविक स्थलहरू केही समयअघि नै खाली गरिएको जानकारी दिए । उनका अनुसार, सम्भावित खतरालाई ध्यानमा राख्दै ती केन्द्रहरूबाट महत्वपूर्ण उपकरण र जनशक्तिलाई सुरक्षित स्थानमा सारिएको थियो, जसकारण इरानले ठूलो क्षति व्यहोर्नु परेन ।








