विवाह समारोहमा गोली चल्दा बेहुलीको मृत्यु, बेहुलासहित दुई गम्भीर

फ्रान्स । दक्षिण-पूर्वी फ्रान्सको एक रमणीय गाउँमा विवाहको खुसीयाली क्षणभरमै मातममा परिणत भएको छ । एभिन्योन नजिकैको गुल्ट गाउँमा आइतबार बिहानै एक विवाह समारोहमा भएको अन्धाधुन्ध गोलीकाण्डमा २७ वर्षीया बेहुलीको ज्यान गएको छ भने २५ वर्षीय बेहुला र एक १३ वर्षीय किशोर गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब ४:३० बजे, विवाह समारोह सम्पन्न भएपछि सामुदायिक भवनबाट बाहिरिँदै गरेका नवविवाहित जोडीमाथि मास्क लगाएका हतियारधारी समूहले अन्धाधुन्ध गोली वर्षाएको थियो । घटनामा एक आक्रमणकारीको पनि मृत्यु भएको पुष्टि भएको छ । सुरुमा बेहुला-बेहुली सवार कारले ठक्कर दिएर आक्रमणकारीको मृत्यु भएको बताइए पनि एभिन्योनकी अभियोजक फ्लोरेन्स गाल्टिएरले उनको मृत्यु पनि गोली लागेरै भएको स्पष्ट पारेकी छन् ।

फ्रान्सेली सञ्चारमाध्यमहरूले यो घटनालाई लागूपदार्थको कारोबारसँग सम्बन्धित पुरानो दुस्मनीको परिणाम हुनसक्ने आशङ्का गरेका छन् । प्रहरीले यसलाई हत्या र हत्या प्रयासको घटनाका रूपमा दर्ता गरी अनुसन्धानलाई तीव्रता दिएको छ ।

आक्रमणकारीहरू कारमा आएका थिए तर घटनापछि पैदलै फरार भएका थिए । उनीहरूको खोजीका लागि दर्जनौँ प्रहरी र हेलिकप्टर परिचालन गरी त्यस क्षेत्रमा व्यापक तलासी अभियान चलाइएको छ । घटनाका बेला सामुदायिक भवनमा २८ जना उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =