महिला, बालबालिका मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्ण : हितराज पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तथा सांसद हितराज पाण्डेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित, पक्षपातपूर्ण र रणनीतिक दृष्टिले कमजोर रहेको टिप्पणी गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै पाण्डेले बजेटले बालबालिका र ज्येष्ठ नागरिकजस्ता संवेदनशील वर्गलाई समेट्न नसकेको बताए । उनले शिक्षा, संस्कार र सीपमा केन्द्रित कार्यक्रमको अभाव भएको भन्दै मन्त्रालयप्रति असन्तुष्टि जनाए ।
‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट न सन्तुलित छ, न रणनीतिक,’ पाण्डेले भने, ‘बालबालिकालाई शिक्षा, संस्कार र सीप दिने कार्यक्रम नै छैन । यसले उनीहरूको भविष्य कसरी बनाउने ?’
उनले सदियौँदेखि पछाडि पारिएका महिला वर्गप्रति पनि बजेटले न्याय गर्न नसकेको बताए । ’केही सामन्ती संस्कारहरू अझै महिलालाई पछाडि पारिरहेका छन्,’ उनले भने, ’तर बजेटले ती चुनौतीको सम्बोधन नै गर्न सकेको छैन ।’
सांसद पाण्डेले मन्त्रालयको विनियोजनमा कुनै स्पष्ट नीति, उद्देश्य र प्रभावकारी कार्यक्रम नभएको भन्दै सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाए । ‘यस्तो बजेटले न महिला सशक्तिकरण सम्भव छ, न बालबालिकाको समुचित विकास,’ उनले थपे ।








