तेस्रो स्थापना दिवसमा रास्वपाको संकल्प- ‘विकृतिविरुद्ध लड्दै समृद्ध नेपाल बनाउँछौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो तेस्रो स्थापना दिवस मनाउँदैछ । वैकल्पिक राजनीतिको बलियो जग निर्माण गर्ने अठोटका साथ तीन वर्षअघि स्थापना भएको पार्टीले यो अवधिमा जनताको अपार विश्वास र समर्थन प्राप्त गरेको बताउँदै आगामी दिनमा पनि सुशासन र समृद्धिको यात्रामा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थापना दिवसको अवसरमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले एक शुभकामना सन्देश जारी गर्दै पार्टी स्थापना, विस्तार र सुदृढीकरणमा निरन्तर लागिरहने सबैप्रति आभार व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘तीन वर्षअघि आम नागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षालाई राजनीतिक आकार दिँदै रास्वपाको स्थापना भएको थियो । यो छोटो अवधिमा मन र मतमार्फत् प्रदर्शित अपार जनविश्वास र भविष्यको आशाका रूपमा गरिएको चित्रणप्रति हामी सदैव कृतज्ञ रहनेछौँ ।’
कार्यवाहक सभापति अर्यालले पार्टी हाल केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको स्वीकार गरेका छन् । ‘परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी समाप्त पार्ने षड्यन्त्रविरुद्ध हामीले अनेकौँ मुद्दा लगाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामी कानुनी लडाइँलाई सशक्त बनाउँदै सुनियाजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौँ ।’
रास्वपाले आफूलाई अभियानकै रूपमा पार्टी विस्तार र सुदृढीकरणमा सक्रिय रहेको जनाएको छ । सङ्घीय संसदमा आफ्नो उपस्थितिलाई अझै प्रभावकारी र परिणाममुखी बनाउने, सरकारका गलत कामको खबरदारी गर्ने तथा जनमुखी कानुन निर्माणमा निर्णायक भूमिका खेल्ने संकल्पलाई पछिल्ला घटनाक्रमले थप दृढ बनाएको पार्टीको भनाइ छ ।
विज्ञप्तिमा देशमा जरा गाडेको दलालतन्त्र र सिन्डिकेटले सिर्जना गरेको विकृति-विसंगतिका विरुद्धको भण्डाफोर अभियान जारी रहने बताइएको छ । ‘हाम्रो मूल खबरदारी महँगी, बेरोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्यालगायत आमनागरिकका जनजीविकाका सवालमा केन्द्रित हुनेछ,’ अर्यालद्वारा जारी सन्देशमा भनिएको छ, ‘सडकदेखि सदनसम्म जनताको आवाजलाई निरन्तर बुलन्द बनाइरहनेछौँ ।’
पार्टीले आफ्नो सबैभन्दा ठूलो शक्ति आम नागरिकको अटुट विश्वास र समर्थन नै भएको ठहर गर्दै यही शक्तिलाई एकीकृत गरी संकल्प पूरा गर्न सबैलाई आह्वानसमेत गरेको छ । रास्वपाले सबै मिलेर एक विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गर्ने संकल्पलाई थप मजबुत बनाउने वाचा गरेको छ ।








