यी हुन् रास्वपा सचिवालय बैठकका १० निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
हिजो असार ४ गते बसेको रास्वपा सचिवालय बैठकका निर्णय सार्वजनिक गरेको हो । बैठकले पार्टी सभापति रवि लामिछानेमाथि झुट्टा र प्रतिशोधपूर्ण मुद्दा लगाइएको बताएको छ ।
उक्त मुद्दा विरुद्ध पार्टी एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ । साथै भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै पार्टीले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको छ ।
यी हुन् रास्वपा सचिवालय बैठकका निर्णय
१. सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एक ढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने ।
२. देहायका केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरिएको छ ।
क. नीति तथा विचार विभाग – प्रमुख, डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार
ख. कृषि विभाग – प्रमुख, राजन गौतम, चितवन
ग. ऊर्जा तथा जलस्रोत विभाग – संयोजक, श्रीराम न्यौपाने
३. विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने ।
४. मिति २०८२ असार ७ गते बिहान ९ बजे “लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा” भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने ।
५. पार्टी स्थापना दिवसकै दिन, मिति २०८२ असार ७ गते बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय (चःमति, वनस्थली) मा केन्द्रीय समिति बैठक आयोजना गर्ने ।
६. पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान सञ्चालन गर्ने ।
७. “सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीले यसलाई संसद्को रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन । तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए÷नभएको यकिन गर्न प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्यहरू रहनुभएको छ ।
८. इजरायल–इरानबिचको बढ्दो द्वन्द्वका बीच दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सरकारसँग तुरुन्त पहल गर्न जोडदार माग गर्दछ ।
९. स्याङ्जाको आँधी खोलामा भइरहेको चरम दोहन विरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका–१० का नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरी पार्टीका केन्द्रीय सदस्य एवं नदी संरक्षण अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते हुनुभएको घटनालाई पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ । सौम्य स्वरूपमा उठाइएका विरोधलाई समेत सत्ता पक्षबाट हिंसात्मक रूपमा दबाउने प्रवृत्तिको पार्टी घोर भत्र्सना गर्दछ। यस जघन्य घटनाले पार्टीलाई विचलित गर्न सक्दैन । पार्टी अझ दृढताका साथ जनताको पक्षमा आवाज उठाउँदै अघि बढ्ने प्रतिबद्धता दोहो¥याउँदछ । घटनामा संलग्न सबै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न पार्टीले सम्बन्धित निकायसँग आवश्यक पहल गर्नेछ । त्यस्तै, घाइते साथीहरूको उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न पार्टीले आवश्यक सम्पूर्ण कदमहरू चालेको जानकारी गराइन्छ ।








