सभामुखले संसदीय मर्यादा उल्लंघन गर्दै संसद चलाए : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरीत संसद सञ्चालन गरेको आरोप लगाएका छन् ।
संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङदेनले बजेटमाथि छलफल गर्न सक्ने वातावरण सभामुखले बनाउन नसकेको बताएका हुन् ।
उनले संसदमा भिजिट भिसा जस्तो संवेदनशील विषयमा फरक दृष्टिकोण राख्दै आवाज उठाइरहेका दलहरूलाई संवाद र समाधानतर्फ ल्याउने प्रयास हुनुपर्नेमा त्यसो नगरी जबरजस्ती संसद चलाइएको जिकिर गरे ।
‘बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाएका छैनन्,’ उनले भने, ‘संसदीय मर्यादा अनुसार कुनै एक सांसदले पनि असहमति जनाउँदै उठेपछि संसद अवरुद्ध मानिन्छ । तर अहिले भद्रगोल ढंगले संसद अघि बढाइएको छ ।’
लिङदेनले संसद मर्यादाविपरीत चलेको बैठकमा सहभागी हुन नसकिने स्पष्ट पार्दै राप्रपाले बैठक बहिष्कार गरेको बताए । ‘जबसम्म संसद सही तरिकाले चल्दैन, हामी त्यस्तो बैठकमा सहभागी हुँदैनौं,’ उनले भने, ‘बैठकमा नजाँदाको भत्ता पनि लिँदैनौं ।’
उनले बजेट केही नेताको गोजीबाट आएको र सरकारमा बसेकाहरूको स्वार्थ पूर्तिका लागि ल्याइएको आरोप समेत लगाए । ‘संख्याको दम्भमा विचार निषेध गरिएको छ,’ उनले भने ।








